बिट्रीस गोर्खा वेलफेयरको रु १ करोड ६६ लाखमा शिख माविको भवन निर्माण (फोटो फिचर)

  • १३ असार २०७५, बुधबार
  • कमल खत्री
  • 1899 पटक पढिएको

म्याग्दी, १३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा बिट्रीस गोर्खा वेलफेयरले ८ कोठे भवन निर्माण गरेको छ । २०७२ सालको भूकम्पले क्षतीग्रस्त बनेको यस विद्यालयमा वेलफेयरले रु १ करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी भवन निर्माण गरि वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बुद्धुजाले जानकारी दिए ।

‘‘ तिन वर्षअघिको भुकम्पका कारण विद्यालय भवन क्षतीग्रस्त भएको थियो, विद्यालयका पूर्व अध्यक्ष बागविर पाईजाको बिशेष पहलमा वेलफेयर मार्फत भवन निर्माण भएको छ, भवन निर्माणसंगै विद्यालयको पठनपाठनमा सहजता भएको छ’’– अध्यक्ष बुद्धुजाले भने ।

वेलफेयरले भूकम्पपछिको पुननिर्माणको लागी सञ्चालन गरेको क्विक रेस्पोन्स परियोजनाले सो भवन बनाएको हो । गत मंसिर १४ गतेदेखि सूरु भएको भवन निर्माण कार्य असार ६ गते सम्पन्न भएको छ । वेलफेयरले विद्यालय भवनसंगै ५ कोठे छुट्टै सौचालय समेत निर्माण गरेको विद्यालयका प्रधानध्यापक केदार कार्कीले जानकारी दिए । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा हाल १९१ जना विद्यार्थी अध्ययनरत छन् ।

भुकम्पले पूर्ण रुपमा क्षतीग्रस्त यस विद्यालयमा सरकारी, संघ संस्था , समुदाय तथा विभिन्न ठाउँमा रहेका शिखबासीहरुको तर्फबाट आर्थिक स्रोत जुटाएर करिब ३ करोड बढीको पूर्वाधारहरु निर्माण गरिसकिएको प्रअ कार्कीले बताए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l