एसईईमा उत्कृष्ट नतिजा आएपछि लिटल गार्डेनले मनायो खुसीयाली, अमिषा परियार बनिन जिल्लामै उत्कृष्ट
- ११ असार २०७५, सोमबार
- 2239 पटक पढिएको
म्याग्दी, ११ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा उत्कृष्ट नतीजा ल्याउन सफल भएपछि बेनी बजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले सोमबार खुसीयाली बनाएको छ । विद्यालयबाट एसईई परिक्षामा सहभागी छात्रा अमिषा परियारले ३.९५ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएकी छिन् । परियार सहित एसईई परिक्षामा अन्य विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याएर उर्तिण भएपछि विद्यालयले सोमबार बेनीमा ¥याली सहित खुसीयाली मनाएको हो ।
एसईई परिक्षामा जिल्लामै उत्कृष्ट हुन सफल भएकी परियार सहित उत्कृष्ट नतिजा सहित उर्तिण भएका विद्यार्थीहरु सबैलाई विद्यालयले सोमबार सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक एवम विद्यार्थीहरुले सामुहिक रुपमा सम्मान एवम खुसीयाली मनाएका थिए । लिटल गार्डेन एकेडेमीबाट एसईईमा सहभागी कुल १६ जना विद्यार्थी मध्य १३ जनाले ए प्लस र ३ जनाले ए ल्याउन सफल भएको विद्यालयका संस्थापक बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
जिल्लामा ३.९५ जिपिए ल्याउने अमिसा मात्रै भएपछि उनलाई जिल्ला टपको रुपमा विद्यालयले सम्मान गरेको प्रधानध्यापक खुम बहादुर केसीले बताउनुभयो । स्तरीय शैक्षिक वातावरणमा शिक्षकहरुको सिकाउने शैलि संगै विद्यार्थीहरुको मेहनतले उत्कृष्ट नतीजा ल्याउन सकिएको उहाँको भनाई छ । जिल्लामै उत्कृष्ट बनेकी छात्रा अमिषा जिल्ला स्तरमा हुने अतिरित्त क्रियाकलापहरुमा समेत निकै अग्रस्थानमा थिइन् ।