मंगलाको बजेट ३१ करोड ३० लाख, दर्जनबढी गौरवका आयोजना
- ११ असार २०७५, सोमबार
- प्रताप बानियाँ
- 1765 पटक पढिएको
म्याग्दी, ११ असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न तेस्रो गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले कुल ३१ करोड ३० लाख ५३ हजार ४५२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष केसीले प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ संघबाट प्राप्त वित्तीय समानीकरण ६ करोड ७० लाख, राजश्व बाँडफाँड चार करोड ८४ लाख ५१ हजार, सशर्ततर्फ ११ करोड ४१ लाख, प्रदेशबाट प्राप्त वित्तीय समानीकरण एक करोड १३ लाख, आन्तरिक आय प्रक्षेपण ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसैगरी चालु आवको सञ्चित कोष रकम एक करोड ६० लाख, प्रदेशबाट प्राप्त राजश्व २४ लाख ४७ हजार ४५२ र सामाजिक सुरक्षा भत्ता चार करोडसहित आम्दानीतर्फ कुल ३० करोड २९ लाख ४८ हजार ४५२ रुपैयाँ रहेको छ ।
त्यस्तै व्ययतर्फ चालु शीर्षकमा २२ करोड ४९ लाख २० हजार ४५२, पुँजीगततर्फ सात करोड ८० लाख २८ हजार, जनसहभागितामा नगद २५ लाख र श्रम तथा वस्तुगत ७६ लाख पाँचहजार रुपैयाँ प्रस्ताव गरिएको छ । यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिएभने उपाध्यक्ष केसीले आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । प्रस्तुत नीति तथा कार्यक्रम र आर्थिक विधेयकमाथि गाउँ कार्यपालिका सदस्य चक्रलाल पाण्डेले आफ्नो अभिमत राखेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रम र आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष सृजना केसीले प्रस्तुत गरेको बजेटमाथि गाउँसभामा छलफल सुरु भएको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आउँदो असार २३ गते बस्ने गाउँपालिकाको अर्को गाउँसभामा प्रस्तुत बजेट पारित गरिने बताइएको छ ।
गाउँपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा मनाउने नीति लिएको छ भने गाउँपालिका अन्तर्गत शुन्य दरबन्दी रहेका विद्यालयहरुमा कम्तीमा पनि एकएक जना शिक्षकको व्यवस्था गरिने भएको छ । सडक योजनातर्फ सिम–कोत्राबाङ हुँदै टोड्के जोड्ने सडक निर्माणमा जोड, पोक–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक, बाबियाचौर–भर्जुला–थाईबाङ हुँदै हिदी, पोक–सातबिसे–तोरीडाँडा हुँदै वडानम्बर ४ बराङ्जा जोड्ने सडक र वडानम्बर ३ बराङ्जाको सान्तुङदेखि पर्यटकीय क्षेत्र झाँक्रीपानी जोड्ने सडकलाई उच्च प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्नका लागि नौलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाको अध्यक्षता, गाउँपालिका महासंघका केन्द्रीय सदस्य खरमाया बिटालुको विशेष उपस्थिति रहेको गाउँसभाको औपचारिक कार्यक्रमको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।