मालिकाको बजेट २९ करोड २७ लाख, १२ गौरबका आयोजना
- १० असार २०७५, आईतवार
- गोपाल छन्त्याल/राकेश शर्मा
- 2356 पटक पढिएको
दरबाङ १० असार । मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि २९ करोड २७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र दरवाङमा दोश्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक बर्ष २०७४÷०७४ मा मौज्दात रहने संचित कोषको पूर्वाअनुमान गर्दै बजेट सार्वजनिक गरेकी हुन् ।
प्रस्तुत बजेटमा संघीय सरकारको समानीकरण अनुदान ७ करोड ५३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने १२ करोड १९ लाख, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरे बमोजिम अर्थमन्त्रालयबाट प्राप्त हुने ५ करोड ८४ लाख, प्रदेश सरकारबाट १ करोड ३२ लाख, आन्तरिक स्रोत ३२ लाख ३६ हजार र चालु आबमा सचित कोषमा २ करोड रुपैयाँ मौज्दात हुने पूर्वानुमान गरि बजेट तयार पारिएको उल्लेख गरिएको छ । गाउँपालिकाले पूँजीगत बजेट मध्ये १२ वटा गौरबको आयोजना छनौट गरि ३ करोड ५० लाख रुपैयाँ बिनीयोजन गरेको छ ।
जसमध्ये जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य मालिकाधुरीमा दरवाङ–विम–वायनफाँट हुदै मालिका पुग्ने सडकलाई सबैभन्दा बढी ५० लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ । दरवाङ–दिच्याम सडकलाई २२, दरवाङ–दुखुलाई २० लाख रुपैयाँ विनीयोजन गरिएको छ । यो दुई सडकलाई बिम जोडेर मालिक पुग्ने गरि रिङरोडको अवधारणा अघि सारिएको छ । गाउँपालिका कार्यालय देखि वडा कार्यालयसम्म सडकको पहुँच पु¥याउने योजनालाई गौरबको आयोजनाका रुपमा समावेश गरिएको छ । जस अनुसार दरवाङ देखि देविस्थान, डाँडागाउँ जोड्न ३१/३१ लाख, रुम, निस्कोटलाई ३३/३३ लाख, ओखरबोट ३० र विमको वडा कार्यालय जोड्न २० लाख रुपैयाँ विनीयोजन गरेको छ । वडा नं २ रुम देखि बागलुङको ताराखोला जोड्ने सडक र ओखरबोट सिस्नेरी देखि सोलेधुरी जोड्ने सडकलाई २०/२० लाख रुपैयाँ गौरबको आयोजना अन्र्तगत विनीयोजन भएको छ ।
किसानी मावि बिमको प्राविधिक अध्यापनलाई १५ लाख रुपैयाँ छुट्टयाईएको छ । गाउँपालिकास्तरीय बजेटका लागि १ करोड ३५ लाख विनीयोजन गरिएको छ । प्रस्तुत बजेटमा पूर्वाधार विकास क्षेत्रमा २ करोड ४९ लाख, आर्थिक विकास र सामाजिक विकास क्षेत्रमा ८३/८३ लाख, वन वातावरण र विपदमा १ करोड १० लाख, संस्थागत विकास र सुशासनतर्फ २७ लाख ७० हजार रुपैयाँ विनीयोजन भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको सभाध्यक्षतामा प्रस्तुत बजेटले जनताको आधारभुत आवश्यता परिपूर्तिमा महत्वपूर्ण उपलब्धि हासिल हुने उपाध्यक्ष बिटालुको विश्वास छ ।
यसअघि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले कुषि तथा पशु, स्वास्थ्य, शिक्षा, सडक तथा यातायात, भौतिक पूर्वाधार, सिँचाई, खानेपानी र भवन, वन, वातावरण तथा भू संरक्षण, आर्थिक, सुशासन, सामाजिक विकास, विद्युत, सँस्कृति तथा पर्यटन, युवा तथा खेलकुदमा समयसापेक्ष नीति र जनहितकारी नीति अबलम्बन गर्नेमा जोड दिएका थिए । २ सत्रमा सम्पन्न गाउँसभाको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सञ्चालन गरेका थिए । असार मसान्तभित्र पारित गर्नुपर्ने नीति, कार्यक्रम र बजेट माथि चरणबद्ध रुपमा छलफल र बहस गरि आवश्यकता अनुसार संशोधन गर्न सकिने अधिकृत सुवेदीले जानकारी दिए ।