बेनी नगरपालिकाको तेस्रो नगरसभामा बजेट प्रस्ताब
- १० असार २०७५, आईतवार
- 2255 पटक पढिएको
म्याग्दी, असार १० । बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति, टोलबस्तीबाट आएका योजनालाई समेटेर भौतिक पूर्वाधार निर्माण, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन सुचना प्रविधि, विपद् ब्यवस्थापन, वातावरण संरक्षण, सामाजिक विकास, शुसासन लगाएत विभिन्न विषयमा समेटिएर तयार गरिएको थियो ।
निति तथा बजेट प्रस्तुत गदैं उपप्रमुख बरुवालले चालु आर्थिक बर्षमा नगरपालिकाले विनियोजन गरेको ३७ करोड ७८ लाख ८६ हजार बजेटमा ३० करोड १७ लाख ३३ हजार खर्च भइसकेकाले ठेक्का प्रक्रियाबाट सञ्चालित योजनाको अन्तिम भुक्तानी दिने बाँकी रहेका अवस्थामा लक्ष्य अनुसारको काम भएकाले आगामी आर्थिक बर्षको बजेटलाई थप प्रभवकारी बनाइने बताईन् ।
उपप्रमुख बरुवालले आवा २०७५÷७६ का लागि करिव ५४ करोड अनुमानित आयब्यय विवरण प्रस्तुत गरेको नगरपालिकका प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका अनुसार नगरसभामा चालु आर्थिक बर्षमा ऐन, नियमावली, कार्यविधि, निर्देशिका, नियम, दिग्ददर्शन तयार गर्नमा केन्द्रित भएपनि बजेट कार्यान्वयनमा समेत ध्यान केन्द्रित गरिएको बताउँदै आगामी आवाको सुरुवातमै लक्ष्य अनुसार काम गर्ने बताए ।
नगरसभाले सम्पत्ती, भूमी, घर बाहल, ब्यवसाय गरी १२ किसिमका कर समेटेर तयार गरिएको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयनले समेत आन्तरिक आम्दानीको स्रोत बढाउने बताइएको थियो । नगरसभाको नगरप्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । नगरसभाको समापन गदैं मेयर श्रेष्ठले चालु आवामा देखिएका कमीकमजोरी तथा समस्यालाई सच्चाउँदै आगामी आवामा सहर देखी गाउँसम्म बजेट कार्यान्वयन तथा दिगोपनाका लागि काम गरिने बताएका थिए । सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम, बजेट अध्ययन गर्न नगरकार्यपालिका सदस्यलाई २ दिन समय दिइएको छ ।
आगामी असार १३ गते बस्ने सभाले निति तथा कार्यक्रम र बजेट पारित गर्ने छ । तेस्रो नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषालले गरेका थिए । सभामा प्रस्तुत गरिएको बजेटका बारेमा गाउँकार्यपालिका सदस्यले प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । गाउँपालिकाले बस्तीबाट संकलन गरिएका योजनालाई प्राथमिकता दिएको जनाउँदै विकास निर्माणलाई प्राथमिकता दिएका छन् ।