नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्छ : मन्त्री थापा
- १० असार २०७५, आईतवार
- प्रताप बानियाँ
- 2071 पटक पढिएको
म्याग्दी, ९ असार । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्ने बताउनुभएको छ । समाजकल्याण परिषद अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उहाँले सर्वसाधारणहरुले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको हो ।
मन्त्री थापाले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि निःशुल्क शिविर आयोजना गरिएको बताउँदै घरघरमा स्वास्थ्य सेवा पुर्याउन अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रममा व्यवस्था गरेको जानकारी दिनुभयो । गाउँगाउँमा स्वास्थ्य सेवा लैजान आगामी दिनमा ठोस खालका कार्यक्रमहरु सञ्चालन गरिने भन्दै उहाँले स्थानीय तहहरुले स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम गर्नुपर्ने बताउनुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर गाउँपालिकास्तरमा स्वास्थ्य शिविरहरु चलाइने उहाँको भनाई छ ।
समृद्ध मुलुक स्थापना गर्न सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई विशेष ध्यान दिएको बताउँदै मन्त्री थापाले दुर्गम तथा विकट क्षेत्रका स्थानीयमा स्वास्थ्यको पहुँच बढाउन विभिन्न किसिमका गतिविधिहरु सञ्चालन हुने बताउनुभएको छ । सरकारले नीति तथा कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि एकलाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरेकाले सरकारी स्वास्थ्य संस्थामा ज्येष्ठनागरिक लक्षित छुट्टै उपचार कक्षको स्थापना गरिने मन्त्री थापाले बताउनुभयो ।
परिवर्तित सन्दर्भमा अब देशका हरेक वडाबाट ज्येष्ठ नागरिकहरुको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको उचित व्यवस्थापनमा लाग्नुपर्ने मन्त्री थापाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको उत्थान गर्नलाई स्थानीय तहले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति सबैले माया र सद्भाव देखाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
मन्त्री थापाले आगामी पाँच वर्ष भित्रमा देशबाट बेरोजगारको अन्त्य गर्ने सकारको लक्ष्य रहेको भन्दै स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि बजेट, नीति तथा कार्यक्रमबाट सम्बोधन गरिएको बताउनुभयो । समाजमा घट्ने लैङ्गिक एवं घरेलु हिंसा अन्त्य गर्न महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउनुपर्ने बताउँदै आर्थिक उपार्जनका क्षेत्रमा संलग्न गराउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
मन्त्री थापाले मुस्ताङको कोबाङदेखि उपचार सेवा लिन आएकी सतलदेवी पुनलाई नामदर्ता कागज हस्तान्तरण गरेर शिविरको शुभारम्भ गर्नुभएको थियो । शिविरमा बालरोग विशेषज्ञ डा. नवराज सुवेदी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले उपचार सेवा दिएको थियो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको शिविरमा म्याग्दीसहित मुस्ताङ र पर्वत जिल्लाका ३ सयबढी बिरामीहरुले सेवा लिएका थिए ।
स्वास्थ्य सेवा कोषका अध्यक्ष हुमबहादुर बरुवालको अध्यक्षता, नगरपालिका उपप्रमुख सन्जु बरुवालको स्वागत र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा शिविरको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।