मन्त्रीसँग महिलाहरुको भेटघाट तथा अन्तरक्रिया
- १० असार २०७५, आईतवार
- प्रताप बानियाँ
- 2117 पटक पढिएको
म्याग्दी, ९ असार । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापासँग भेटघाट गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक क्षेत्रमा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो ।
भेटघाटमा मन्त्री थापाले महिलाहरुलाई आयआर्जनका क्षेत्रमा आबद्ध गराउनुपर्ने बताएकी छिन् । उनले वर्तमान सरकारको प्रमुख दायित्व संविधानको कार्यान्वयन गर्ने रहेको भन्दै देशलाई विकासको गतिमा अगाडि बढाइने बताइन् । उनले महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरण गर्न आवश्यक रहेको हुँदा विभिन्न किसिमका पेशा, व्यवसाय र आयआर्जनका क्रियाकलापमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिएकी छिन् ।
मन्त्री थापाले आगामी पाँचवर्ष भित्रमा देशबाट बेरोजगारको अन्त्य गर्ने सकारको लक्ष्य रहेको भन्दै स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि बजेट, नीति तथा कार्यक्रमबाट सम्बोधन गरिएको बताइन् । समाजमा घट्ने लैङ्गिक एवं घरेलु हिंसा अन्त्य गर्न महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउनुपर्ने बताउँदै आर्थिक उपार्जनका क्षेत्रमा संलग्न गराउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
कार्यक्रममा सहभागी महिलाहरुले म्याग्दी जिल्लाको अवस्था, लैङ्गिक तथा घरेलु हिंसाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनीहरुले बढ्दै गैरहेको महिला हिंसा न्युनीकरण गर्नुपर्ने, आयआर्जन तथा आत्मनिर्भरका कार्यक्रममार्फत महिलाहरुलाई आबद्ध गराउनुपर्ने, समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जस्ता मागहरु गरेका थिए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत अन्जु काफ्ले ढुङ्गानाले समाजमा अझै पनि सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै महिलालाई आयआर्जन क्षेत्रबाट आत्मनिर्भर बनाउनुपर्ने बताइन् । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिला मन्त्रीसमक्ष महिलाका समस्याका बारेमा जानकारी गराउन कार्यक्रम गरिएको भन्दै आगामी दिनमा पनि महिलासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
उक्त कार्यक्रममा सहभागी अमृतदेवी बानियाँ, रेखाकौशल रेग्मी, विणा झा, भुनु तिलिजा, तेजकुमारी बानियाँ, जमुना आचार्य, विष्णु गुरुङ, रञ्जना श्रेष्ठ, लिला गौतम, साधना श्रेष्ठ र सङ्गिता श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम नगर उपप्रमुख बरुवालको अध्यक्षता र कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।