विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग

  • ३ असार २०७५, आईतवार
  • 1941 पटक पढिएको


बेनी ३ असार । निर्माण ब्यवसायी संघ म्याग्दीले विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग गरेको छ ।

सरकारी निकायको नितीगत र नियतबस हुने ढिलासुस्ती हटाउन माग गर्दै संघले आईतबार प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघका अध्यक्ष नारायण जिसीको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । सरकारले विकास निर्माणमा ब्यवसायीको मात्र कारणले ढिलासुस्ती भएको आरोप लगाएर सार्वजनीक खरिद ऐन विपरीत हस्तक्षेप गर्न खोजेको संघको भनाई छ । समयमा ठेक्का नलाग्ने, मूल्य वृद्धी, दक्ष जनशक्ति र बजेटको अभाव जस्ता समस्या समाधानका लागि सरकार गम्भिर बन्नुपर्ने ब्यवसायीले माग गरेका छन् ।

पछिल्लो समय गृह मन्त्रालयले ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि ब्यवसायीले बिरोध जनाएका छन् । प्रजिअ अधिकारीले गृहमन्त्रालयले ऐन नियम भित्रनै रहेर ढिलासुस्ती र लापरबाही गर्ने ब्यवसायीलाई कारबाहीमा तिब्रता दिएको बताउँदै सचेत रहन आग्रह गरे ।प्रक्रियागत र नीतिगत समस्या सुल्झाउन आफ्नो ठाउँबाट पहल गर्ने प्रजिअ अधिकारीले बताए ।