नगर शिक्षा निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

  • ३ असार २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 4423 पटक पढिएको

म्याग्दी, २ असार ।  ‘हामी सबैको इच्छा, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारासहित नगर शिक्षा योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा शिक्षाको योजना निर्माणका विषयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विकासको पहिलो आधार शिक्षा भएको बताएका छन् । उनले नागरिकले प्राप्त शिक्षाको कार्यान्वयन गर्ने वातावरण नबनेसम्म विकासले गति लिन नसक्ने भन्दै व्यवहारिक शिक्षाको आवश्यकता रहेको धारणा राखेका थिए ।

अभिमुखीकरण कार्यक्रममा शिक्षा विभागका उपसचिव घनश्याम अर्यालले नगर शिक्षा योजना, खाका, नीतिगत योजना निर्माणका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, १० ओटै वडाका वडा अध्यक्षहरु, नगर शिक्षा समितिका पदाधिकारी र नगर शिक्षा योजना निर्माण कार्यदलका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षता, नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीको स्वागत र प्रकाश माध्यमिक विद्यालय स्रोतकेन्द्रका स्रोतव्यक्ति मोहन बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सन्जु बरुवालको विशेष उपस्थिति रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषालले मन्तव्य राखेका थिए ।

प्रताप बानियाँ