महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम

  • ३ असार २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 2404 पटक पढिएको


म्याग्दी, २ असार । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ४ पोखराको आयोजनामा शनिबार म्याग्दीको बेनीमा महिलासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका महिला जनप्रतिनिधि र महिला सहकारीकर्मीलाई महिलासम्बन्धी विभिन्न विषयमा जानकारी गराउनका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिकास्तरमा महिलासँग सम्बन्धित कार्यक्रमहरु लैजान आवश्यक रहेको बताइन् । उनले समाजमा अझै पनि महिलाहरु पछाडि परेको बताउँदै उनीहरुको उत्थानका लागि आर्यआर्जन, आत्मनिर्भर र व्यवसायिकमूलक क्षेत्रमा आबद्ध गराउने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विभिन्न कारणले हिंसामा परेका पीडित महिलाहरुको पुनसर््थापनाका लागि विशेष हेरचाह केन्द्र स्थापना गर्नुपर्ने बताइन् । कार्यक्रममा कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले महिलाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम निर्माण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा अधिवक्ताद्वय जानकी शर्मा र जुनाकुमारी गुरुङले महिलासम्बन्धी कानुनी प्रावधान, लिङ्ग र लैङ्गिकता तथा बजेटसम्बन्धी विविध विषयहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा नगर तथा गाउँपालिकाका महिला जनप्रतिनिधि, महिला सहकारीका अध्यक्ष र आमा समूहका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत विष्णुमाया पौडेलको अध्यक्षता तथा स्वागत र महिला तथा बालबालिका कार्यालय म्याग्दीका सहायक महिला विकास निरीक्षक सुकुमाया थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रताप बानियाँ