दुवै मृगौला खराव भएपछि अस्पतालको शैयाबाट सहयोगको याचना

  • ३ असार २०७५, आईतवार
  • धु्रबसागर शर्मा
  • 1734 पटक पढिएको

म्याग्दी, ३ असार । रुमानी कल्पना र शैलानी रहरहरु मनभरी संगाली कलेज पढ्ने र सुखद भविष्यको कल्पनामा रमाउने उमेरकी एक युवती दुवै मृगौला खराब भएपछि आँखाबाट बलिनधारा आँशु झार्दै अस्पतालको शैयामा छट्पटाई आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ गौश्वाराकी २० वर्षिया तारा शर्मा बैंशालु रहरलाई तिलाञ्जली दिंदै दुई महिना अघिदेखि मणिपाल शिक्षण अस्पताल पोखराको शैयामा छट्पटाइ रहनुभएको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी शर्मालाई हप्तामा २ पटक डाइलाइसेस गर्नुपर्ने र त्यसका लागि एक पटकको ५ हजार रुपैयाँ लाग्ने गर्दछ । दुवै मृगौला प्रत्यारोपण गर्ने हो भने उनी बाँच्न सक्ने र त्यसका लागि ९ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालका डा.अभिशेक मास्केले बताउनुभएको ताराका दाइ गोकुल शर्माले जानकारी दिनुभयो । ‘घरको अवस्था अत्यन्त दयनीय छ, कमाइ केही छैन, मृगौला प्रत्यारोपण गर्ने पैसा त परको कुरा डाइलाइसेस गर्ने र औषधी किन्ने पैसा पनि हामीसंग छैन’ ताराका दाइ गोकुल शर्माले भन्नुभयो ।

‘छोरीलाई पढाउने र बिबाहागरी अन्माउने कति ठूलो रहर थियो, तर दैवले मेरो सपना सबै चकनाचुर पारी दियो’ ताराका बुबा खडानन्द शर्माले भन्नुभयो ‘उपचारका लागि सक्दो आर्थिक सहयोग गरी मेरी छोरीको जीवन बचाइ दिनुहोस् ।’दुई महिनादेखि छोरीको उपचारमा खट्नुभएका खडानन्द शर्मा अहिले थकित अवस्थामा हुनुहुन्छ । बैदेशिक रोजगारीमा मलेशिया गएका छोरा गोकुल पनि विरामी परेर घर फर्किनु भएको छ । ताराका दाजु गोकुलको अण्डकोषमा समस्या देखिए पछि नेपाल फर्केर उहाँको पनि १ महिना अघि शल्यक्रिया गरिएको शर्माले जानकारी दिनुभयो ।

‘भएको सम्पत्ति छोरा र छोरीको उपचारका क्रममा सकियो अव छोरीको मृगौला प्रत्यारोपणका लागि हामीसंग केही पनि छैन,छोरीलाई जसरी भएपनि बचाउन चाहन्छु’ ६८ वर्षिय शर्माले भन्नुभयो—‘छोरीको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिन मनकारी व्यक्तिहरुसंग मेरो अनुरोध छ ।’ ताराको अहिले मणिपाल शिक्षण अस्पतालमा डाइलाइसेस भैरहेको छ । उनको परिवार बेनपा २ गौश्वाराबाट अहिले बागलुङको लहरेपिपल बस्ने गरेका छन् ।

धु्रबसागर शर्मा