अदिभारा–डाडागाउँ सडकको आठ वर्षमा ट्याक खुल्यो
- २ असार २०७५, शनिबार
- सन्तोष गौतम
- 2694 पटक पढिएको
म्याग्दी, ३० जेठ । आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका ३ डाडाँगाउँमा सडक पुर्याइएको छ । वि.स २०६७ मा अदिभारा देखि सुरु भएको सडकको ट्याक निर्माण कार्यले हालै पूर्णता पाएको हो ।
करिब एक करोड ७ लाख रुपैयाको लागतमा अदिभारा देखि सेउलुङ औला डाँडागाउँ हुदै किटीनी जोड्ने १६ किलोमिटर सडकको ट्याक निर्माण भएको हो । अदिभारा देखि औलाभिर सम्मको तिन किलोमिटर सडक निर्माणमा तत्कालीन जिवीस र रुम गाविसबाट करिब पचास लाख रुपैया लगानी भएको थियो ।
गत वर्ष औलाका बासिन्दाले १८ लाख रुपैयाको लागतमा औलाभिरको पहाड फुटाएर गाउँमा सडक पुराएका थिए । यस वर्ष गाउँपालीकाले बिनियोजन गरेको ३५ लाख रुपैया बजेटबाट औला देखि डाँडागाउँ किटीनी हुदै बागलुङको तमानखोला गाउँपालीकाको सिमाना सोलेडाँडासम्म सडक पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष पदम पुनले बताए ।
भिरालो र चट्टानी पहाडमा सडक निर्माण गर्दा धेरै बजेट र समय खर्च भएको उपभोक्ता समितिका पदाधीकारीले बताएका छन् । यो सडकबाट सेउलुङ, औला, डाँडागाउँ, पात्ले, किटीनी लगायत बस्तीका पाँच सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तमानखोला गाउँपालीकाका बासिन्दालाई पनि यो सडकले सुबिधा पुगेको वडा अध्यक्ष हेमबहादुर पुनले बताए ।
डाडाँगाउँसंगै ७ वटा वडा रहेको मालिका गाउँपालीकाका सबै वडा र बस्तीहरु सडक सञ्जालमा जोडिएका छन् । सडक निर्माण भएपछि स्थानीयबासीलाई आवत–जावत, निर्माण तथा खाद्यान्न सामाग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि, पशुजन्य बस्तु र वनपैदावार बजार सम्म पु¥याउन सहज भएको छ ।
ढुवानी खर्च घटेको छ । भौगोलिक रुपमा बिकट क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थामा पुगेर सेवा लिन सहज भएकोमा स्थानीयबासी केशबहादुर बुढाथोकीले खुसी ब्यक्त गरे । उकालोमा दुई घण्टा पैदल हिडुनुपर्ने बाटो तिस मिनेटमा छोटिएको छ ।
पाँच मिटर फराकीलो सडकमा मालीका गाउँपालीकाको केन्द्र दरवाङ देखि जिप, ट्याक्टर, ट्याक्सीले सेवा दिन थालेका छन् । दरवाङ देखि तमानखोला जोड्ने छोटो दुरीको मानिएको यो सडकलाई सुधार, स्तरोन्नती र नियमित सवारी सञ्चालन गर्ने गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।