हेम र ताकम मावीमा विद्युतीय पुस्तकालय जडान

  • २ असार २०७५, शनिबार
  • गोपाल आचार्य
  • 2380 पटक पढिएको

ताकम, २ असार । धौलागिरी गाउँपालीका ७ को हेम मावी शिवाङ र ताकम मावीमा पुर्व विद्यार्थीहरुको पहलमा विद्युतीय पुस्तकालय जडान गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना), गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल लाईब्रेरी फाउण्डेशनको सहयोगमा जडान गरिएको विद्युतीय पुस्तकालयको गाउँपालीकाका अध्यक्ष थमसरा पुन र मोनाका अध्यक्ष चक्र थापाले शुक्रबार उद्घाटन गर्नुभयो ।

ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ । पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक रहेको सफट्वेयर जडान गरिएको छ ।

हेम माविमा विद्युतीय पुस्तकालय जडानका लागि काफलडाँडाका बालकृष्ण आचार्यको नेतृत्वमा प्रवासमा रहेका पूर्व विद्यार्थीहरुबाट एक लाख ५४ हजार रुपैया सहयोग जुटाइएको थियो । व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर मगरको अध्यक्षता, शिक्षक नेत्रलाल सुवेदीको सञ्चालन र प्रअ शेरबहादुर केसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी ताकम माविमा विद्युतीय पुस्तकालय जडानका लागि मोनाका संस्थापक प्रकाश पुनले ७५ हजार रुपैया सहयोग गर्नुभएको छ । ब्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षता, शिक्षक हरिहर पौडेलको सञ्चालन र प्रअ ओमकार पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गाउँपालीका अध्यक्ष पुन र वडा अध्यक्ष कलानिधी सुवेदीले प्रबिधिको प्रयोगले शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्नुभयो ।

धारापानीमा जन्मिएका मोनाका अध्यक्ष थापाले भौगोलिक बिकटताका कारणले घरबाट विद्यालय जान र घर फर्कदाँ थाकेर पढ्नलाई समस्या भएको स्मरण गर्दै गाउँकै विद्यालयमा आधुनिक प्रबिधीयुक्त गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण मिलोस भनेर सहयोग गरेको बताउनुभयो ।

मोनाको पहलमा हालसम्म म्याग्दीका करिब ३० विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ । जिल्लाका २३२ वटै सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्ने मोनाको कार्यक्रम छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटर लगायत पुर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राबिधिक सहयोग गरेका छन् ।

गोपाल आचार्य