अन्नपूर्ण गाउँपालिकामा टेलिटिचिङ सुरु हुँदै

  • १ असार २०७५, शुक्रबार
  • कमल खत्री
  • 4575 पटक पढिएको

म्याग्दी, १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरलाई सुधार ल्याउन टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपमा विकटता रहेको र विद्यालयहरुमा प्रयाप्त बिषयगत जनशक्ति नभएकाले गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो । एक विद्यालयको पठनपाठनको शैलिलाई अर्को विद्यालयमा प्रत्येक्ष रुपमा हेर्न मिल्ने प्रविधि ‘टेलिटिचिङ’ जडान गरि नयाँ प्रविधिको प्रयोग गरि पठनपाठन सुरुवात गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाको आर्थिक बन्दोबस्त, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोगमा गाउँपालिका स्तरीय शिक्षक महासंघको समन्वयमा टेलिटिचिङलाई सुरुवात गर्न लागेको अध्यक्ष पुनले जानकारी दिनुभयो । ‘‘ गाउँपालिकाभित्र अहिले १० वटा मावि तहका विद्यालय छन्, ति सबै विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरि स्मार्ट टिभि मार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्न मिल्ने बताउँछौँ’– उहाँले भन्नुभयो ।

टेलिटिचिङको लागि १० वटा विद्यालयमा छुट्टै टेलिटिचिङ कोठा तयार पार्न थालिएको छ । स्मार्ट टिभि र इन्टरनेटको बन्दोबस्त मिलाउने काम भैरहेको छ । महाविर पुनले यस अघि नै विस्तार गरेको तार रहित इन्टरनेट प्रविधिलाई उपयोग गरि टेलिटिचिङलाई सुरुवात गर्न लागिएको हो । टेलिटिचिङको सुरुवातका लागि चालु आर्थिक बर्षमै गाउँपालिको रु १० लाख रुपैयाँ बजेट विनीयोजन गरिसकेको र अन्य अपुग हुन आउने ५ लाख ७० हजार बजेट गाउँपालिका अध्यक्ष पुनले व्यक्तिगत रुपमै जुटाउने प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिकाबाट विनियोजन भएको बजेटबाट इन्टरनेट जडान सम्बन्धि सामाग्रीहरु खरिद गरिएको छ । टेलिटिचिङको सुरुवातको लागि थप बजेट अभाब भएपछि हरेक विद्यालयमा राखीने ५० इन्चको टिभि खरिदमा हरेक विद्यालयले रु ५० हजार स्रोत जुटाउने र बाँकी रहेको ५७ हजार रुपैयाँको दरले आउने व्यभार गाउँपालिका अध्यक्ष पुनले व्यक्तिगत रुपमै जुटाउने समझदारी भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो ।

आगामी साउन भित्रै अन्नपूर्ण गाउँपालिकाले टेलिटिचिङलाई सुरुवात गर्ने तयारी गरेको उनले बताए । महावीर पुनले यस अघि नै यस क्षेत्रमा तार रहित इन्टरनेटको सञ्जाल विस्तार गरिसकेकाले टेलिटिचिङ सुरुवात गर्न थप सहज भएको छ । ‘‘ उच्च गतिको इन्टरनेटको लागि रेडियो थप गर्ने तयारी भएको छ, हरेक विद्यालयले प्रविधियुक्त कक्षाकोठाको व्यवस्थापन पनि सुरु गरेका छन्, टेलिटिचिङ सुरुवात भएमा स्काइपको माध्ययम मार्फत एक विद्यालयको पठनपाठन अर्को विद्यालयमा पत्येक्ष हेर्न मिल्छ’–अन्नपूर्ण गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष रमन पुनले भन्नुभयो । अहिले विभिन्न विद्यालयहरुले बिषयगत शिक्षकहरुको अभाब खेपीरहेको सन्दर्भमा टेलिटिचिङलाई उपयोगमा ल्याएर टेलिटिचिङको माध्ययम मार्फत एक विद्यालयमा पठनपाठन भएको भिडियो र अडियो सहितको लाईभ हेर्न र सुन्न मिल्ने बनाउने पुनले बताउनुभयो ।

खासगरि विज्ञान, गणित र अँग्रेजी बिषयका शिक्षकहरु अभाब भैरहने र विद्यार्थीहरुको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिटिङ उपयोगी हुन सक्ने स्रोत व्यक्ति जयराम सुवेदी बताउँछन् । ‘‘ यो माध्ययमले एक विद्यालय र अर्को विद्यालयलाई प्रत्येक्ष रुपमा जोड्छ, शिक्षक र विद्यार्थिहरुले पनि पठनपाठन शैलिलाई एक अर्काले अनुसरण गर्न सहयोग पुग्छ,’’–स्रोत व्यक्ति सुवेदीले भन्नुभयो ।

वेतारे इन्टरनेटको माध्ययम मार्फत नागीमा यस अघि टेलिमेडिसिन सेवा प्रयोगमा आइसकेको छ । नागीमा सार्वजनिक स्वास्थ्य सरोकार केन्द्रले बेतारे इन्टरनेटको उपयोग गरि काठमाण्डौको मोडल हस्पीटलका डाक्टरहरुसंग भिडियो कन्फ्रेन्स मार्फत पत्येक्ष भिडियो कुराकानी गरि उपचार गर्ने ‘टेलिमेडिसिन सेवाले दुर्गम गाउँमै बरिष्ठ चिकित्सबहरुको परामर्शमा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।

यसैबिच अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेटमा समेत शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिने भएको छ । शिक्षाको गुणस्तर सुधार गर्ने उदेश्यले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष पुनले बताउनभुयो । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि यसै शैक्षिक सत्रदेखि कक्षा १ सम्म अनिबार्य रुपमा अँग्रेजी माध्ययम मार्फत पठनपाठनको व्यवस्था गरिएको वडा नम्बर २ का अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीले बताउनुभयो । उहाँले आगामी बर्षदेखि क्रमिक रुपमा अँग्रेजी माध्ययम मार्फत पठनपाठन हुने कक्षा थप गर्दै जाने जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l