जनविकास माविमा छात्रवृत्ती वितरण, बाल क्लब र जुरेस गठन
- २७ जेष्ठ २०७५, आईतवार
- 2483 पटक पढिएको
मराङ २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा रहेको जनविकास माविमा आईतबार छात्रवृत्ती वितरण संगै बालकव्व र जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता, प्रअ हरिप्रसाद लामीछानेको स्वागत, शिक्षक गोविन्द प्रसाद गौतमको सञ्चालन र वडा अध्यक्ष राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरकारले उपलब्ध गराएको ५६ हजार ६०० रुपैया छात्रवृत्ती वितरण गरिएको थियो ।
आधारभुत तहका छात्रा ४५ जना, मावि तहका दलित छात्रछात्रा ४७ जना र दुई जना अपांग विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराइएको हो । भुपु शिक्षक बालकृष्ण सुवेदी र व्यवस्थापन समितिको सदस्य समेत रहनुभएकी उहाँकी भाउजु खतकुमारी सुवेदीले स्वर्गीय बुवा भद्रलाल, आमा खिरावती र दाजु हरिदक्त उपाध्यायको स्मृतीमा स्थपना गर्नुभएको ३१ ह्जार रुपैयाको भद्रलाल, खिरावती, हरिदत्त छात्रवृत्ती कोषबाट १–५ तहमा उत्कृष्ट हुने २ छात्रा र १ छात्रलाई ६२० रुपैयाका दरले पुरस्कृत गरिएको थियो ।
स्वर्गीय शेरबहादुर गर्बुजाको स्मृतीमा उहाँका छोरा व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर गर्बुजाले स्थापना गर्नुभएको बिस हजार रुपैयाको अक्षयकोषबाट ६ देखि ९ कक्षा सम्मको वार्षिक परिक्षामा उत्कृष्ट हुने तिन जनालाई छ सय रुपैयाका दरले पुरस्कार वितरण गरिएको छ ।
सोही समारोहमा विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सहयोग गर्ने देश बिदेशमा रहेका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । शिक्षक चन्द्र बुढाथोकीले विद्युतीय पुस्तकालयको बारेमा जानकारी गराउनुभएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष सुवेदीले सामुदायीक विद्यालयले समुदायको विश्वास जितेर अघि बढ्नुपर्ने बताउँदै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी प्रकाश सुवेदीको अध्यक्षतामा ११ सदस्यीय जुरेस र प्रतिक गर्बुजाको अध्यक्षतामा १३ सदस्यीय बालकल्व गठन भएको छ ।