मध्यपहाडी लाेकमार्गकाे विकल्प बन्न सक्छ सिस्नेरी सडक

  • २७ जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 3234 पटक पढिएको

दरवाङ २७ जेठ । म्याग्दीको मालिका गाउँपालीका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ । करिब साढे ४५ लाख रुपैयाको लागतमा मालिका गाउँपालीका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो ।

स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सेञ्चुरीले जानकारी दिनुभयो ।गाउँपालिकाको केन्द्र दरवाङमा आवत जावत, निर्माण सामाग्री, खाद्यान्न, दैनिक उपभोग्य सामाग्री ढुवानीका साथै गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा सहज भएको छ ।

भौगौलिक रुपमा बिकट क्षेत्रमा अवस्थीत सिस्नेरीमा सडक पुगेपछि पहिले दरवाङ पुग्न तिन घण्टा पैदल हिड्नुपर्ने बाटो एक घण्टामा छोटीएको स्थानीयबासी बालकुमार सुनारले बताउनुभयो । बिरामीलाई समयमै स्वास्थ्य संस्था र अस्पताल पु¥याउन सकिएको छ । सडक निर्माणका लागि स्थानीयबासी र प्रवासीले १२ लाख १५ हजार रुपैया सहयोग गरेका अध्यक्ष सेञ्चुरीले बताउनुभयो । सिस्नेरी हिलसाईड युवा कल्वले पचास हजार, आमा समूहले एक लाख र साविक ओखरबोट गाविसले दुई लाख असी हजार सहयोग गरेका छन् ।

जिल्ला समन्वय समितिले स्रोत सुनिश्चितता मार्फत बिस लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत तिन लाख उपलब्ध गराएको योजनालाई विस्तार गर्न चालु आर्थिक वर्षमा वडाको प्रस्तावमा गाउँपालीकाबाट छ लाख उपलब्ध गराइएको वडा अध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो ।

छ देखि दश मिटर चौडाई भएको सडकमा माईक्रोबस, जिप, ट्याक्टर, मोटरसाईकल सञ्चालन हुने गरेका छन् । यो सडकलाई थप तिन किलोमिटर विस्तार गरेर तमानखोला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित सोल डाडाँसम्म जोडिनेछ । तमानखोला गाउँपालीकाले नर्जासम्म खनेको सडकलाई ढोरपाटन सम्म विस्तार गर्ने काम सुरु गरेको छ ।

ढोरपाटनसंग जोडिएमा यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तीवाङ खण्ड भन्दा छोटो र बैकल्पीक मार्ग बन्ने वडा अध्यक्ष शेरचनले बताउनुभयो । तमानखोला गाउँपालीकासंग समन्वय गरेर ढोरपाटनसम्म विस्तार र सोले खवाङ खण्डलाई पूर्णता दिइने मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

सन्तोष गौतम