शिक्षकलाई आइसिटी तालिम, शैक्षिक तालिम केन्द्रले हल नदीएकाे गुनासाे

  • २६ जेष्ठ २०७५, शनिबार
  • प्रताप बानियाँ
  • 2831 पटक पढिएको

म्याग्दी, जेठ २६ । कक्षाकोठामा सूचना, प्रविधिको प्रयोग गरी इन्टरनेटमाथि पहुँच पु¥याउने उद्देश्यले सञ्चालित सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि सदरमुकाम बेनीमा सञ्चालित आइसिटीसम्बन्धी तालिम शनिबार सकिएको हो ।


‘हामी सबैको इच्छा, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित आयोजित आइसिटी तालिममा बेनी नगरपालिका अन्तर्गत सामुदायिक एवं निजी विद्यालयका ३० जना शिक्षकहरुले सहभागिता जनाएका थिए । ३ दिनसम्म चलेको तालिमको नगरपालिकाका आइटी अफिसर खिमबहादुर क्षत्री, स्रोतव्यक्तिद्वय मोहन बानियाँ र केशवप्रसाद रेग्मीले सहजीकरण गरेका थिए ।


तालिम समापनसत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका शाखा अधिकृत दलबहादुर थापाले तालिमका क्रममा सिकेका ज्ञान र सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनले इन्टरनेटको माध्यमबाट अध्यापन गराउनका लागि आइसिटी सामाग्री खरिद अनुदानमा चालु आर्थिक वर्षमा जिल्लाका १५ ओटा विद्यालयलाई साढे ६ लाख रुपैयाँका दरले झण्डै एक करोड रुपैयाँ सहयोग गरिएको बताए ।


तालिमको समापन गर्दै बेनी नगरपालिकाका नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले तालिमलाई प्रभावकारी बनाउन आगामी दिनमा आवश्यक पहल गरिने बताएका छन् । कार्यक्रममा स्रोतव्यक्ति केशवप्रसाद रेग्मी र सहभागी धौलागिरि मावि सिङ्गाका प्रधानाध्यापक डण्डपाणि सापकोटाले मन्तव्य राखेका थिए । तालिम नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीको अध्क्षता र प्रकाश मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति मोहन बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच आइसिटी तालिम सञ्चालनका लागि शैक्षिक तालिम केन्द्र बेनी, म्याग्दीले हल नदिएपछि शिक्षकहरुले गुनासो गरेका छन् । शिक्षकहरुको दक्षता वृद्धिका लागि विभिन्न समयमा तालिम सञ्चालन गर्दै आइरहेको शैक्षिक तालिम केन्द्रले आइसिटी तालिम सञ्चालनमा हल उपलब्ध नगराएपछि शिक्षकहरु आक्रोशित भएका छन् । तालिम लिनका लागि उपयुक्त हल नहुँदा आयोजक र सहभागी शिक्षकहरु सास्ती बेहोर्न बाध्य भएका थिए ।

प्रताप बानियाँ