बेनी–जोमसोम सडकमा छब्बीस सिटको सिण्डीकेट तोडीयो

  • २० जेष्ठ २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2108 पटक पढिएको

म्याग्दी, २० जेठ । बेनी–जोमसोम सडकमाकायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमत्ताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा आईतबार बिहान बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँचवर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।

विगतमा गरिएको २६ सिट सम्मको रुट ईजाजत व्यवस्था खारेज गरी २७ फिट सम्म लम्बाई भएका सवारी साधनको रुट ईजाजत प्रदान गर्न देशभरका यातायात ब्यवस्था कार्यालयमा सिफारीस गर्ने निर्णय भएको प्रजि अलिलाधर अधिकारीले बताउनुभयो । २०७१ बैशाख ८ गते तत्कालिन यातायात ब्यवस्थापन समिति धौलागिरीको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउदै २६ सिट भन्दा बढी क्षमत्ताका यात्रुबाहक सवारी साधनलाई सञ्चाल नगर्न नदिने निर्णय गरेको थियो ।

सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तिर्थयात्रीहरु आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात ब्यवसायीको गाडी चढेर जान बाध्य थिए । यस्तो ब्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डीकेटधारी स्थानीय यातायात ब्यवसायीलाई सहयोग पुगेको थियो । “बेनी–जोमसोम सडकमा छब्बीस सिटे मापदण्डका आधारमा घुमाउरो तरीकाले गरिदै आएको सिण्डीकेट प्रथा तोडीएको छ”प्रजिअ अधिकारीले भन्नुभयो “देशभरका यातायात ब्यवस्था कार्यालयमा निर्णय अनुसारको रुट ईजाजत दिनका लागि पत्राचार गछौ ।”

नयाँ निर्णय अनुसार २७ फिट सम्मलम्बाई भएका (दुई सापटे) ३२ सिट क्षमत्ता भएका बसहरु सञ्चालन गर्न सकिने म्याग्दीकोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीका सञ्चालक सुरज केसीले बताउनुभयो । यो सडकमा हाल जलविद्युत र सडक आयोजनाका लागि निर्माण सामाग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भैरहेका छन् । स्तरोन्नती भैरहेको सडकको पुरानो अवस्थालाई आधार मानेर यात्रुबाहक सवारीमा मात्र मापदण्ड लागु गर्दा दुख पाएको र स्थानीय यातायात ब्यवसायीको सिण्डीकेट प्रथालाई सहयोग पुगेको सर्वसाधारणको गुनासो थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम हुदै कोरला सम्मको ११० किलोमिटर सडकलाई कम्तीमा एघार मिटर फराकीलो बनाउने गरी स्तरोन्नतीको कामगरिरहेको छ ।

२६ सिट भन्दा बढी क्षमत्ताको सवारी सञ्चालनको सम्भाव्यत्ता अध्ययन गर्नका लागि जेठ १५ गते सहायक प्रजिअ शोभाखर पोखरेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको थियो । डिभिजन सडक कार्यालय बागलुङका ईञ्जिनियर सरोज ढकाल, जिल्ला प्राबिधिक कार्यालयका सब ईञ्जिनियर चन्द्रबहादुर पुन, ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठक र म्याग्दीकोरला ट्राभल्सका सञ्चालक केसी सदस्य रहेको टोलीले सडकको स्थलगत अध्ययन गरेर १८ गते प्रतिवेदन बुझाएको थियो ।

टोलीको प्रतिवेदनको आधारमा २६ सिटको मापदण्ड खारेज गर्नुका साथै विभिन्न ठाउँमा सडक सुधार गर्न बेनीजोमसोम कोरला सडक आयोजनालाई आग्रह गरेको छ । गलेश्वर बेलीब्रिज अगाडी, तिल्कीनी, चमेरे, महभिर, दोवाको मोटरेबल पुल, सुकेबगर, जलथले, अन्धगल्छी, बादरजुङ भिर र बेगखोला क्षेत्रमा सडक फराकीलो बनाउन, ग्रेड मिलाउन र मर्मतको काम तत्काल गर्न आयोजनालाई पत्राचार गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

सन्तोष गौतम