मौवाफाँटमा आमा समुहहरुलाई नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
- २० जेष्ठ २०७५, आईतवार
- 2064 पटक पढिएको
म्याग्दी, २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आमा समुहहरुको लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धी तालिम आइतवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका कार्यालयको आर्थिक सहयोग र पवित्र आमा समुहको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा वडा नम्बर ३ का विभिन्न ठाउँमा रहेका आमा समुहहरुको सहभागीता रहेको थियो ।
पवित्र आमा समुहका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले समाज परिवर्तनमा आमा समुहहरुको भुमिका महत्वपूर्ण हुने भन्दै सामाजिक विकृति र विसंगीहरु न्युनीकरणको लागि आमा समुहहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई र वडा नम्बर ३ का अध्यक्ष जिबन कुमार मल्लले तालिमले महिलाहरुको नेतृत्व र क्षमता अभिबृद्धि गर्न सहयोग पुगेकोमा जोड दिनभयो ।
कार्यक्रममा ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी, धरमपानी आमा समुहका अध्यक्ष कमला शाही लगायतले मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष सिता खड्का सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिब याम कुमारी गर्वुजाले गर्नुभएको थियो । पवित्र आमा समुह, उदा आमा समुह पिप्ले र महारानी आमा समुह रानीपौवाकाका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त तालिममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।