आगलागी र ब्रेन ट्युमर पिडितलाई कतारमा रहेका भगवतीबासीबाट करिब १ लाख २५ हजार सहयोग
- २० जेष्ठ २०७५, आईतवार
- 2710 पटक पढिएको
म्याग्दी, २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कतारमा रहेका भगवतीबासीहरुले सामाजिक सञ्जालको उपयोग गरि आगलागी पिडित र ब्रेन ट्युमर पिडितलाई सहयोग जुटाएका छन् । विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षती व्यहोरेका रघुगंगा गाउँपालिका–२ खड्कमारेका जगिन्द्र भण्डारी र ब्रेन ट्युमर रोगबाट पिडित भगवतीकै याम बहादुर कार्कीको उपचारार्थ रु १ लाख २४ हजार ४१ सहयोग जुटाएका हुन् ।
मोता कतारका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका तिलु शर्मा पौडेलको पहलमा सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान र भेटघाट कार्यक्रम गरि आगलागी पिडित भण्डारीको परिवारलाई रु ४६ हजार ५ र ब्रेन ट्युमर पिडित कार्कीको उपचारको लागि रु ७८ हजार ३६ सहयोग संकलन गरिएको हो । कतारमा रहेका भगवतीबासी र अन्य केही व्यक्तिहरुबाट संकलन गरि आगलागी पिडित भण्डारी परिवारको लागि पठाईएको राहत रकम आइतवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष रिम बहादुर कटुवाल, वडा सचिब बलराम पौडेल र सामाजिक परिचालक मायाँ शर्मा अधिकारीले संयुक्त रुपमा आगलागी पिडित भण्डारी परिवारलाई सो रकम प्रदान गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष कटुवालले जन्मगाउँमा आईपर्ने समस्याहरुप्रति प्रवासमा रहेपनि सहयोग जुटाएकोमा कतारमा रहेका भगवतीबासीलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
त्यसैगरि न्युरो अस्पतालमा उपचाररत ब्रेन ट्युमर पिडित कार्कीको उपचारको लागि समेत कतारमा रहेका भगवतीबासीहरुले संकलन गरेको रु ७८ हजार ३६ सहयोग रकम समेत समन्वयकर्ता निरोज कार्की मार्फत पठाईएको अभियन्ता तिलु शर्मा पौडेलले जानकारी दिनुभयो ।
अभियन्ता पौडेल र विरामी कार्कीका दाजु पबहादुर कार्कीको पहलमा कतारमा भएको भगवतीबासीहरुको भेटघाट कार्यक्रमबाट संकलन भएको २ हजार ७९ कतारी रियाल र बेनी नगरपालिका– ९ का लिलाको व्यक्तिगत पहलमा एमएआरएस कम्पनीमा कार्यरत बिभिन्न देशका नागरिकबाट ५ पाच सय बैसठ्ठी कतारी रियाललाई एकमुण्ठ रुपमा पठाईएको हो ।