वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको तयारी पुरा

  • ६ चैत्र २०७३, आईतवार
  • 2217 पटक पढिएको

म्याग्दी,६ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको सोमबार हुने तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै सोही दिनमा सम्मेलन गर्न लागिएको जनाइएको छ । सम्मेलनको प्रचार प्रसार, आन्तरिक व्यवस्थापन लगायतको तयारी पुरा भएको वाईसिएल जिल्ला संयोजक भोजबहादुर थापा (कुमार)ले जानकारी दिनुभयो ।ycl

उक्त सम्मेलनलाई तत्कालिन डेपुटी कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अबसरमा वाइसीएलका कार्यकताहरुले बेनीमा मार्चपास गर्ने कार्यक्रम समेत राखिएको वाईसीएलले जनाएको छ । ‘‘गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढौँ, वाईसीएल म्याग्दीको तेस्रो एकता सम्मेलन सफल पारौँ’’ भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा जिल्लाका अधिकाँश गाउँतहबाट प्रतिनिधिहरुले सहभागिता जनाउने जिल्ला संयोजक थापाले बताउनुभयो । सम्मेलनले वाईसिएल म्याग्दीको नयाँ नेतृत्व चयन गर्नेछ ।