पर्यटन विकासको लागि गुर्जामा पदमार्ग निर्माण (फोटो फिचर)

  • १९ जेष्ठ २०७५, शनिबार
  • कमल खत्री
  • 4655 पटक पढिएको

म्याग्दी, १९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकहरुको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो । पैदल यात्रा मार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्र्तगत देउरालीदेखि लत्रबाङ सम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।

पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले विनियोजन गरेको रु ११ लाख बजेटमा स्थानीयले श्रमदान समेत गरि पदमार्ग बनाएका हुन् । जंगलमै अस्थायी रुपमा बास बसेर गुर्जाका ५० जना भन्दा बढीलाई परिचालन गरि उक्त पदमार्ग निर्माण गरिएका वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

देउराली देखि–फेदीसम्मको ओरालो बाटोमा साँघुरो र पहिरोको कारण पर्यटक र सर्वसाधारणलाई आवत जावत गर्न कठिनाई हुने गरेको थियो । सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जा पुग्न लुलाङदेखि एकदिनभर जंगल र अग्ला पहाडको यात्रा गर्नुपर्छ । यो बर्ष करिब १ किलोमिटर बढी बाटोमा ढुंगाको सिँढी चिनेर पदमार्ग बनाईएको पदमार्ग निर्माण समितिका अध्यक्ष गोर्खा छन्त्यालले बताउनुभयो ।

जंगलभित्र फराकिलो सिढी चिनेर पदमार्ग निर्माण भएपछि सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तर्फ आवत जावत गर्न सहज भएको छ भने भ्रमणको लागि पर्यटकहरुको लागि समेत सहजता मिलेको छ । स्थानीयले जंगलभित्र थप १ किलोमिटर बाटोलाई चौडा बनाउने काम गरेपनि बजेट अभाबले सिढी चिनेर पदमार्ग बनाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष छन्त्यालको भनाई छ ।

बाटो अप्ठ्यारो हुँदा पर्यटकहरु समेत हिँड्न नसक्ने समस्या रहेको कारण बाँकी ठाउँहरुमा समेत पदमार्ग निर्माणको लागि गाउँपालिकामा थप बजेटको माग गरिएको गुर्जाका स्थानीय प्रेमप्रसाद छन्त्यालले जानकारी दिनुभयो । ‘‘ हामी कत्ति पनी बजेटलाई दुरुपयोग नगरिकन काम गछौँ, जिल्लाकै सबैभन्दा टाढाको रुपमा रहेकाले पनि गुर्जालाई बिशेष खालका कार्यक्रमहरु मार्फत विकासले जोड्नुपर्छ,’’– उहाँले भन्नुभयो ।

ढोरपाटन शिकार आरक्ष क्षेत्रले समेत समेटीएको गुर्जादेखि–रुघाचौर सम्मको पदमार्ग समेत यसै बर्ष निर्माण गरिएको छ । गाउँपालिका कार्यालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट ढोरपाटन तर्फ जाने उक्त बाटोमा अप्ठ्यारो ठाउँमा फराकिलो बनाउने, ढुंगा चिनेर सिढी निर्माण गर्ने काम गरिएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

यस पदमार्गमा जंगल र भिरको बाटोमा करिब ५ किलोमिटर पदमार्गलाई फराकिलो बनाउने र मर्मत गर्ने काम गरिएको छ । हिमाल र डाँडाकाँडाले घेरिएको लुकेको गाउँको रुपमा चिनिने गुर्जालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पदमार्ग निर्माण, होमस्टे सञ्चालन संगै प्रचार प्रसार र कला संस्कृति संरक्षणको काम समेत भैरहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l