बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित छानविनको माग

  • १८ जेष्ठ २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 3254 पटक पढिएको

बेनी १८ जेठ । बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित नेकपा निकट युवा र विद्यार्थी संगठनले छानविनको माग गरेका छन् । युवासंघ, वाईसीएल, अनेरास्ववीयु र अनेरास्ववीयु (क्रान्तिकारी)ले अनियमितताका १७ वटा बुदा सहित बिहीबार जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग सहित उजुरी गरेका हुन् ।

किल्नीकल फिल्डमा आउने विद्यार्थीबाट अस्पतालले लिने शूल्कको दुरुपयोग भएको, स्टोरमा म्याद गुज्रेका औषधी राखेर बितरण गरेको, कागजमा मात्र सामान खरिद गर्ने गरेको, कर्मचारी भर्नाका क्रममा प्रक्रिया पुरा नगरेको, अस्पताल परिसरका रुखहरु प्रक्रिया पुरा नगरी काटेर बिक्री भएको, ईमरजेन्सी भवन निर्माणको खर्च विवरण सार्वजनीक नभएको, नामदर्ता, एम्बुलेन्स, ईन्धन तथा सञ्चार शिर्षकको बजेट अपारदर्शी दंगले खर्च भएको लगायतका आरोप लगाइएको छ ।

बेनी अस्पताल भ्रष्ट्राचारीहरुको अखडा बनेको बताउँदै अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलले छानवीन गरी कारबाही र प्रत्येक गतिबिधि पारदर्शी हुनुपर्ने बताउनुभयो । वाईट वाईसीएलका जिल्ला अध्यक्ष कुमार किसानले बिकृती, बेतीथी र बिसंगती विरुद्ध सरकारले लिएको नितीलाई सफल बनाउन युवा विद्यार्थीहरु अग्रसर भएको बताउनुभयो ।

उजुरी बुझ्दै प्रजिअ लिलाधर अधिकारीले अख्तियार दुरुपयोग आयोगसंग समन्वय गरेर छानवीन गरी बास्तवीकता पहिचान गर्ने प्रतिवद्धता जनाउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले हरेक गतिबिधि पारदर्शी होस र अनियमितता नहोस भनेर आफू लागीपरेको बताउँदै केही विषयमा आफूले समेत छानवीन गरिरहेको बताउनुभयो ।

उहाँले विद्यार्थीको शूल्क, स्टोरका औषधी, भवन निर्माणको खर्च, रुख कटान लगायतका विषयमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई सोधपुछ गरेर जानकारी लिएको बताउँदै आरोप र वास्तावीकता फरक भएको बताउनुभयो । उजुरीमा अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले दोहोरो सुबिधा लिने गरेको, कार्यालय समयमा निजी किल्नीक तथा औषधी पसलमा काम गरेको लगायतका विषय उल्लेख गरिएको छ ।

सन्तोष गौतम