शैक्षिक गुणस्तर विषयमा अभिमुखीकरण
- १७ जेष्ठ २०७५, बिहीबार
- 1235 पटक पढिएको
म्याग्दी, जेठ १७ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार शैक्षिक गुणस्तर समूहलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको हरेक कक्षाका ५ जना विद्यार्थी रहेको गुणस्तर सुधार समूहलाई विभिन्न विषयहरुमा सहजीकरण गरिएको हो ।
समूहले कक्षा तथा क्याम्पसमा हुने गतिविधिहरुको अवलोकन गरी अभिलेख एवं रिपोर्टिङ गर्ने बताइएको छ । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले विद्यार्थीहरुलाई नियमित गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् । उनले क्युएए प्राप्तिका लागि रचनात्मक सहयोग गर्न र पक्षपातरहित रुपमा अभिलेख राख्न निर्देशन दिएका छन् ।
कार्यक्रममा गुणस्तर सुनिश्चितता प्रत्यायन कार्यक्रम क्युएएका फोकल पर्सन गोरखबहादुर जिसीले क्युएएका सम्बन्धमा जानकारी गराएका थिए । कार्यक्रम संयोजक नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य हेमराज शर्मा, सहायक क्याम्पस प्रमुखद्वय रेखाकौशल रेग्मी, श्रीधर सुवेदी, प्राध्यापक र गुणस्तर सुधार समूहका संयोजक एवं सदस्यको सहभागिता रहेको थियो ।