मालिकामा नक्सा पास नगरी भवन निर्माण गर्नेलाई सेवा रोक्ने निर्णय

  • १७ जेष्ठ २०७५, बिहीबार
  • 1411 पटक पढिएको

म्याग्दी १७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाले नक्सा पास नगरी जथाभावी रुपमा भवन निर्माण गर्नेलाई सार्वजनीक सेवा रोक्का गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको केन्द्र दरवाङ स्थित कार्यालयमा बिहीबार अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बसेको बैठकले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ कडाईका साथ लागु गर्ने निर्णय गरेको हो ।

गत पुषमा कार्यपालिकाले पारित गरेको मापदण्ड विपरीत गाउँपालिकाको केन्द्र दरवाङ बजार र अन्य वडाहरुमा केही व्यक्तिहरुले नक्कापास नगरी जथाभावी रुपमा भवन निर्माण गरेपछि उनिहरुलाई कानुनी दायरामा ल्याउन अटेर गर्नेलाई सेवा सुबिधा रोक्का गर्ने निर्णय गरीएको कार्यपालीकाका प्रवत्ता टंकप्रसाद पुनले जानकारी दिनुभयो ।

मापदण्ड अनुसार नयाँ घर निर्माणको नक्सा पास गर्न स्थानीयले अटेर गरेपछि कठोर निर्णय लिन बाध्य भएको उहाँले बताउनुभयो । बैठकले कुनै पनि सार्वजनीक पद धारण गरेका जनप्रतिनिधी र कर्मचारीले विकास निर्माणको उपभोक्ता समिति तथा संघ संस्थामा बस्न नपाउने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ऐन, कार्यबिधीहरुको मस्यौदा छलफलका लागि वडा अध्यक्ष तथा विषयगत उपसमितिहरुलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच बिहीबार दरवाङमा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा धौलागिरी र मालिका गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि सञ्चालीत योजना तर्जुमा सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदी, कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासे र राष्ट्रिय पुननिर्माण प्राधिकरणका फोकल पर्सन पदम भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, ५ नम्बर वडाका अध्यक्ष पिपला बुढाथोकी र ७ नम्बर वडाका अध्यक्ष रेशम जुक्जाली (सुबिन)ले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालीमको बुधबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो ।