कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार आचार्यलाई प्रदान (फोटो फिचर)

  • १३ जेष्ठ २०७५, आईतवार
  • धिरन खत्री
  • 2077 पटक पढिएको

म्याग्दी, १३ जेठ । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औ कृष्ण सेन स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद रु ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका र एक दशक देखि सञ्चार क्षेत्रमा क्रियाशिल पुरस्कृत पत्रकार आचार्य गोरखापत्र दैनिक, नवविकल्प साप्ताहीकमा आवद्ध हुनुहुन्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ४ का अध्यक्ष त्रिभुवन पौडेल, पूर्व सांसद गोविन्द पौडेल, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा र सेन्टरका अध्यक्ष कमल खत्रीले आचार्यलाई पुरस्कृत गर्नुभएको थियो ।

वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर स्थापना भएको पचहत्तर रुपैया राशीको कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतीमा हालै थप २५ हजार सहयोग गर्नुभएको थियो । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष पौडेलले पुरस्कारले नयाँ पुस्तालाई पत्रकारीतार्फ आकर्षित गर्ने र अग्रजलाई सम्मान पुग्ने बताउनुभयो । उहाँले पत्रकारीता क्षेत्रलाई विश्वसनीय र मर्यादीत बनाउन महासंघको प्रदेश कमिटीले आबश्यक तयारीहरु समेत गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व सांसद गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले गाउँतहसम्म पत्रकारीताको पहुँच स्थापित गरी समाज रुपान्तरण, विकास र सम्बृद्धीको अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महासंघका प्रदेश सदस्य तथा पुरस्कार छनौट समितिका संयोजक सन्तोष गौतम, पुरस्कृत पत्रकार आचार्य, नेपाल प्रेस युनियन म्याग्दीका सभापती गोपाल छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा सहिद मदन केसीका बुवा खिमबहादुर केसीले सहिद परिवारको भावना समेटिएको कबिता प्रस्तुत गर्नुभएको थियो ।

प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव सन्दिप खत्रीको सञ्चालन र प्रेस चौतारी म्याग्दीका सचिव प्रताप बानियाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l