बेनीमा सञ्चालित पसलहरुमा अनुगमन, अखाद्य बस्तु जफत गरी नष्ट

  • ११ जेष्ठ २०७५, शुक्रबार
  • 2443 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ ११ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका पसलहरुको बिहीबार अनुगमन भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय म्याग्दी, बेनी नगरपालिका, प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य र म्याग्दी उद्योग वाणिज्य संघद्वारा बेनीबजारस्थित सञ्चालनमा रहेका पसलहरुको अनुगमन गरिएको हो ।


सरोकारवाला निकायसहितको संयुक्त अनुगमन टोलीले ४० ओटा खाद्य पसल, ७ ओटा क्लिनीक र २ ओटा डेरीसहित ४९ ओटा पसलहरुमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसलहरुमा बिक्रीका लागि राखिएका सामानहरुको मुल्यसुची नराखिएको, पसलहरु दर्ता तथा नवीकरण नगरी सञ्चालन गरिएको, म्याद नाघेका सामानहरु नछुट्टाइएको र खाद्य तथा अखाद्य सामानहरु एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको जस्ता कमजोरीहरु भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत रामचन्द्र रेग्मीले बताए ।


यसैगरी प्याकिङ गरिएका गेडागुडी, चिनी, मसला लगायतका सामानहरुमा लेबल नटाँसिएको पाइएको उनले बताएका छन् । केही क्लिनीक पसलहरु नवीकरण नभएको, औषधीको मुल्यसुची नराखिएको, क्लिनीक पसलमा बस्ने व्यक्तिले एप्रोन नलगाएको जस्ता गल्तीहरु अनुगमनका क्रममा पाइएको उनले जानकारी दिए । अनुगमन गरिएका पसलबाट कुल ६८ हजार ५६१ रुपैयाँ मुल्य बराबरको अखाद्य सामानहरु जफत गरी सम्बन्धित व्यवसायीकै रोहबरमा नष्ट गरिएको छ ।

म्याद गुज्रिएका सामानहरुमध्ये सबैभन्दा धेरै चिसो पेयपदार्थमध्ये कोक, फ्यान्टा, स्प्राइट, जुस रहेको शाखा अधिकृत रेग्मीको भनाई छ । त्यस्तै बिस्कुट, दालमोठ, मैदा, स्न्याकस चक्लेट, पापड, घ्युसहित दैनिक उपभोग्यका सामानहरु रहेका छन् । बेनीबजारको आवारोड, विरेन्द्रचोक, न्युरोड, सङ्गमचोक, क्याम्पसचोक, पिपलचोक, हस्पिटलचोक लगायतका स्थानहरुमा सञ्चालित पसलहरुको अनुगमन गरिएको थियो ।

यसअघि पनि जिल्ला प्रशासनको अगुवाइमा बजारमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन गरिँदै आएको थियो । ऐन कानुनमा भएको व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा व्यवसायीहरुले भने सरोकारवालाले दिएको सुझावको वेवास्ता गर्दै आइरहेका छन् । यता व्यवसायीहरुले भने कानुनी प्रक्रिया पुरा गरेरै पसल सञ्चालन गरिएको भन्दै उत्पादक कम्पनीले नै समयमा सामान नपठाउँदा म्याद सकिने गरेको प्रतिक्रिया दिएका छन् ।