गुर्जामा आमा समुहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण (फोटो फिचर)
- ११ जेष्ठ २०७५, शुक्रबार
- कमल खत्री
- 3122 पटक पढिएको
म्याग्दी, ११ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समुहको अगुवाईमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबै भन्दा बिकट र दुर्गम गाउँको रुपमा चिनिएको गुर्जामा पुग्ने पर्यटक र स्थानीयबासीहरुको सुविधाको लागि आमा समुहले रु १६ लाख बढी लगानीमा सार्वजनिक नुहाउने घर निर्माण गरेका हुन् ।
अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधा सहितको सार्वजनिक नुहाउने घर सहित फराकिलो धारो र कुलेसो निर्माण गरिएको आमा समुहका अध्यक्ष ज्ञान कुमारी छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, महिला र पुरुषको लागि छुट्टाछुट्टै २ वटा कोठा र ४ वटा धारा भएको उक्त नुहाउने घरमा एउटा कोठामा एकैपटक २ जनाले नुहाउन मिल्ने गरि धारा जडान गरिएको छ ।
नुहाउने घरमा विद्युतिय मेसिन जडान गरि तातोपानीको व्यवस्था गरिएको छ । अधिकाँश समय चिसो हुने यस ठाउँमा तातोपानी सहितको नुहाउने घर निर्माणले गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।
नुहाउने घरको भवन निर्माण, धारा र विद्युतिय मेसिन जडान सहित, कुलेसो निर्माणको लागि गत बर्ष वडा कार्यालयको रु ६ लाख ४७ हजार, यस बर्ष गाउँपालिकाको रु ५ लाख बजेट प्राप्त भएको र बाँकी रु ४ लाख ५५ हजार रकम आमा समुहको आन्तरिक कोषबाटै लगानी गरिएको समुहका सचिब सिता कुमारी छन्त्यालले बताउनुभयो ।
उक्त योजनामा आमा समुहका सदस्यहरुले ५ दिनसम्म श्रमदान समेत गरेका छन् । दुर्गाकुमारी छन्त्यालको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महिलाहरुकै पहल , आमा समुहको समेत लगानी र महिलाहरुकै श्रमदानबाट दुर्गम गाउँमा सार्वजनिक नुहाउने घर निर्माण गरेका हुन् ।
महिलाहरुको नेतृत्वमा पनि सामाजिक कामहरु गर्न सकिन्छ भन्ने उदेश्यले महिलाहरुको मात्रै सहभागीतामा सार्वजनिक नुहाउने घर र कुलेसो निर्माण योजनालाई सम्पन्न गरेको समुहका सदस्य बेलमती परियारले बताउनुभयो ।
सार्वजनिक नुहाउने घरको व्यवस्थापनको लागि सुविधा लिन आउनेलाई स्थानीयलाई रु २०, गाउँ बाहिरका व्यक्तिलाई रु ५० र विदेशी पर्यटकहरुलाई प्रतिव्यक्ति रु १०० शुल्क लिइने आमा समुहका सदस्य भिममायाँ छन्त्यालले जानकारी दिनुभयो । वि.स. २०५४ सालमा स्थापना भएको यस आमा समुहले विभिन्न साँस्कृतिक कार्यक्रम र लाहुरेहरुलाई स्वागत तथा सम्मान कार्यक्रमबाट संकलन गरेको रकमबाट पूर्वाधार निर्माण र सामाजिक कार्यहरु गर्दै आएका छन् ।
हालै रु ३ लाख लगानीमा गुर्जामा भुमेथान मन्दिर निर्माण गरेको यस आमा समुहले ओनथानखोलामा काठे पुल निर्माण, गुर्जा–ढोरपाटन पदमार्ग सरसफाई, गाउँमा सार्वजनिक धारा निर्माण लगायतका कामहरु गरिसकेको छ ।
यस आमा समुहले २ बर्ष पहिले स्थानीय जनकल्याण माविका निजी स्रोतका शिक्षकको लागि रु ६० हजार सहयोग गरेको थियो भने स्वास्थ्य चौकीमा करारमा नियुक्त गरिएका अनमीलाई समेत १ महिना बराबरको तलब सहयोग गरेको आमा समुहका सचिब छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, समुहले विरामी भई उपचार गराउन समस्यामा परेका स्थानीयलाई छोटो समयको लागि ब्याज रकम नलिने गरि विरामीको अबस्था हेरेर रु ५० हजार सम्म उपचारको लागि समेत सहयोग गर्दै आएको छ ।
आमा समुहका सदस्यहरुले संकलन गर्ने रकमलाई न्युनतम व्याजमा घुम्ती कोष र आकस्मिक कोष गरि दुई क्षेत्रमा परिचालन गर्दै आईएको छ । अहिले हिमाली आमा समुहको रु ३ लाखको घुम्तीकोष र रु २ लाखको आकस्मिक कोष रहेको छ । जिल्लाको सबैभन्दा टाढाको दुरीमा अवस्थित गुर्जामा रहेको आमा समुहले सामाजिक कार्यको लागि खेल्दै आएको भुमिका प्रसंसनिय छ । यस आमा समुहले गरेको यस्ता कार्यहरुलाई अन्य गाउँका आमा समुहरुले पनि सिको गर्न सके समाजको सामाजिक क्षेत्रमा रचनात्मक सहयोग पुग्ने देखिन्छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l