जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

  • २९ बैशाख २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2205 पटक पढिएको

 


म्याग्दी २९ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र चोरी निकासी गरेका छन् ।


आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि कसैले पनी अनुमती नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अबैध काम भएको जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदीले बताउनुभयो । चैत अन्तिम र बैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अबैध उत्खनन्मा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाएपनी नितीगत अस्पष्टताको कारण देखाउदै राजनितिक दवावमा पुन उत्खनन् नगर्ने सहमती गराएर छाडेको थिए ।

कल्वका पदाधीकारीले नदीजन्य पदार्थको उत्खनन् गरेकोमा गल्ती स्विकार गर्दै अब उत्खनन् नगर्ने लिखित प्रतिवद्धता विपरीत केही दिनयता पुन चोरी निकासी गरिरहेका स्थानीयबासीले बताएका छन् । नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ । आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन कल्वले पाँच लाख रुपैयामा बिनोद हमाललाई ठेक्कामा दिएको सेभेनस्टार युवा कल्वका अध्यक्ष लालबहादुर थापा (माईकल)ले बताउनुभएको थियो ।

नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको सिफारीसमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर खेलमैदान सम्माउने र संरक्षण गरिएपनि बिक्री नभएको थापाले दावी गर्दै आउनुभएको छ । दिउँसो नदीजन्य बस्तु उत्खनन र राती चोरी निकासी गर्ने गरेको स्थानीयबासीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नगरपालीकाका प्रमुख श्रेष्ठको लिखित पत्राचारपछि पहिले उत्खनन् गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलीङ गर्नका लागि मात्र नगर प्रमुख श्रेष्ठको सिफारीसमा अनुमती दिएको बताउनुभयो ।
कल्वका पदाधीकारीहरुले प्रतिवद्धता विपरीत काम गरेको सूचना पाएपछि शनिबार दिउँसो प्रहरी पठाएर उत्खनन रोक्न निर्देशन दिएको प्रजिअ अधिकारीले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले अलपत्र अवस्थामा छोड्डा बस्ती कटानको जोखिम भएकाले खाल्डाखुल्डी पुर्न र संरक्षणका लागि सहमती दिएपनि बिक्री वितरण गर्नु गलत काम भएको र त्यस्तो नगर्न निर्देशन दिने बताउनुभयो ।

स्थानीयबासीको बिरोध र दवावका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन् । प्रहरीले अबैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिएपनी कारबाही नभएकाले यस्तो गतिबिधि मौलाएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

सन्तोष गौतम