रघुगंगा गाउँपालिकाद्धारा पाखापानीमा सेवा केन्द्र राखेर सेवा दिन सुरु

  • २८ बैशाख २०७५, शुक्रबार
  • 1671 पटक पढिएको

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर ६ पाखापानीमा सेवा केन्द्र राखेर जनतालाई सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि आवत जावत गर्न भौगोलिक विकटताको कारण समस्या भएपछि गाउँपालिकाले झिँ, पाखापानी र कुइनेमंगले क्षेत्रका नागरिकको सुविधाको लागि हरेक साताको शुक्रवार पाखापानीमा सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्ने गरि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

शुक्रवार गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई, योजना प्रमुख दयाराम पौडेल, सब ईन्जीनियर कमल चोखाल लगायतको टोलीले पाखापानीमा पुगेर गाउँपालिकाको सेवा प्रवाह गरेका छन् । ‘‘ यो क्षेत्रलाई बिशेष व्यवस्था सहित जनतालाई घर दैलोमा सुविधा दिन प्रतिबद्ध छौँ, राज्यसंग पनि बिशेष वा संरक्षित क्षेत्र माग गरेका छौँ, जनतालाई सेवा लिँदा हुने सास्ती प्रति हामी सचेत छौँ, ’’– अध्यक्ष भण्डारीले भन्नुभयो ।

रघुगंगा खोलाको पारिपट्टीका तीन वटा वडाका नागरिकलाई विकासका पूर्वाधारहरुले नजोडेसम्म स्थानीयको आबश्यकता अनुसार पाखापानीमै सेवा केन्द्र मार्फत सिफारिस, योजना सम्झौता, लगायतका सेवा उपलब्ध गराईने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । सो क्रममा गाउँपालिका अध्यक्ष भण्डारी सहितको टोलीले पाखापानी क्षेत्रमा सञ्चालनमा रहेका विकास निर्माण योजनाहरुको अनुगमन समेत गरेको छ ।