मोदीको मुक्तिनाथ भ्रमणको तयारीमा बेमौसमी हिमपातले यसरी दियो चुनौती (भिडियो रिपाेट)
- २७ बैशाख २०७५, बिहीबार
- 2565 पटक पढिएको
म्याग्दी, २७ वैशाख । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी तिब्र पारिएको छ । मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा मुक्तिनाथमा बेमौसमी भारी हिमपात भएको छ । यद्यपी प्रतिकुल मौसमका बाबजुत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी तिब्र पारिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएपछी मोदीको भ्रमण तयारीमा चुनौतीहरु थपिएका छन् । बिहीबार बिहान १० बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको थियो ।
११ बजेपछि घाम लागेपछि बल्ल मुक्तिनाथमा हेलिप्याड, स्वागत गेट लगायतका निर्माणको तयारी सुरु भएको थियो । अपरान्ह ४ बजेपछि पुनः हिउँ पर्न थालेपछि स्वागत गेटहरु निर्माणमा ढिलाई भइरहेको छ । प्रतिकुल मौसमका बीच सबै सुरक्षा निकायसँग दैनिक समन्वयमा सुदृढ सुरक्षा प्रबन्ध गराईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ आइपुग्ने कार्यक्रम छ ।
काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ । मोदीकै भ्रमणका लागि मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ । त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन् ।
मन्दिर प्रवेशद्धार नजिक बनाईएको हेलिप्याडमा अवतरणपछि मोदी पैदल मार्फत नै मन्दिर पुगेर पुजामा सरिक हुने कार्यतालिका तय भएको छ । मन्दिरमा विशिष्ट पाहुना आउँदा पुजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मुस्ताङका सबै होटलहरुमा पाहुनाहरु माथि व्यापक निगरानी बढाईएको छ ।