मोदीको मुक्तिनाथ भ्रमणमा मौसमको चुनौती ! माइनस तापक्रममा स्वागत तयारी (फोटो फिचर)

  • २७ बैशाख २०७५, बिहीबार
  • गोपाल छन्त्याल
  • 2983 पटक पढिएको

मुक्तिनाथ, २७ वैशाख । व्यापक हिमपातका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी थालिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । हिउँ पर्ने क्रम रोकिएको छैन । बिहीबार बिहान १०बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको थियो ।

११ बजेपछि घाम लागेपछि बल्ल मुक्तिनाथमा हेलिप्याड, स्वागत गेट लगायतका निर्माणको तयारी सुरु भएको थियो । अपरान्ह ४ बजेपछि पुनः हिउँ पर्न थालेपछि स्वागत गेटहरु निर्माणमा ढिलाई भइरहेको छ । प्रतिकुल मौसमका बीच सबै सुरक्षा निकायसँग दैनिक समन्वयमा सुदृढ सुरक्षा प्रबन्ध गराईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ आइपुग्ने कार्यक्रम छ । उनको भ्रमणलाई भव्य बनाउन जिल्ला समन्वय समितिका प्रमुख छरिङ ल्याबो गुरुङको अध्यक्षतामा स्वागत समिति बनाईएको छ । जिल्ला प्रशासन कार्यालय सुरुमा २८ र २९ गते बेनी–जोमसोम सडकखण्ड र मुस्ताङसँग सीमाना मनाङको थोराङला पास बन्द गर्ने भएपनि त्यसलाई खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

उनका अनुसार अब २९ गते मोदी पुजापाठ गर्ने अवधीसम्म मुक्तिनाथ प्रवेश निषेध गरिएको र पर्यटकलाई बैकल्पिक मार्ग तोकिएको छ ।
काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ । मोदीकै भ्रमणका लागि मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ । त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन् । मोदीको भ्रमणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र गेटहरु बनाउने काम जारी रहेको समन्व समितिकी प्रमुख गुरुङको भनाई छ ।

मुक्तिनाथ वरपर भारतीय प्रधानमन्त्री नरेन्द मोदीको तस्विर राखेर उनलाई न्यानो स्वागत दिन तयारी गरिएको छ । उनका लागि ६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट बनाईनेछ । मन्दिर प्रवेशद्धार नजिक बनाईएको हेलिप्याडमा अवतरणपछि मोदी पैदल मार्फत नै मन्दिर पुग्नेछन् । मन्दिरमा विशिष्ट पाहुना आउँदा पुजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

मोदीका भ्रमणको पूर्वसन्ध्यामा म्याग्दी र मुस्ताङको सीमाना घासामा कडा सुरक्षा चेकजाँच भइरहेको छ । मुस्ताङका सबै होटलहरुमा पाहुनाहरु माथि व्यापक निगरानी बढाईएको छ । २८ गते मुक्तिनाथमा रहेको एक दर्जन होटलहरु बन्द गरिनेछ ।

गोपाल छन्त्याल