सरकारलाई म्याग्दी अनेरास्ववियुको प्रश्न

  • २५ बैशाख २०७५, मंगलवार
  • सन्दिप शर्मा
  • 2637 पटक पढिएको

म्याग्दी,२५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ क्षेत्रमा अन्य नागरिकहरुलाई प्रवेश निषेध गरिएकोप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले विरोध जनाएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री मोदीको यात्रालाई सुरक्षित र भरपर्दो बनाउने नाममा सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएकोप्रति अनेरास्ववियुले मङ्गलबार सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदी आगामी बैशाख २८ गते नेपालको जनकपुर क्षेत्रमा आउने र २९ गते प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन तथा भ्रमण गर्न आउने हुँदा दुई दिन आवतजावत एवं मन्दिर दर्शनमा प्रवेश निषेध गरेपछि अनेरास्ववियुले विरोध गरेको जानकारी दिएको छ । मनाङको थोरङ्लापास क्षेत्र हुँदै मुस्ताङ आउने, मुस्ताङदेखि मनाङतर्फ र बेनी भएर जोमसोम आवतजावत तथा हेलिकप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्र आउने यात्रुहरुलाई पनि सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले रोक लगाएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले नेपालमा मोदी आउनु कुनै नौलो विषय नभए पनि सर्वसाधारणमाथी आवतजावत हुनै नदिने गरी रोक लगाउनु आपत्तिको विषय भएको बताए । उनले बैशाख २८ र २९ गते मुस्ताङको मुक्तिनाथ क्षेत्र प्रवेश र मन्दिर दर्शनमा लगाइएको रोक सरकारले तुरुन्तै फिर्ता लिनुपर्ने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसका कार्यवाहक सभापति ईश्वर सुवेदीले नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा सर्वसाधारणलाई आवतजावतमा रोक लगाउनुभन्दा माफी मगाउनुपर्ने बताए । कार्यक्रम अनेरास्ववियु जिल्ला कोषाध्यक्ष दर्पण रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सन्दिप शर्मा