मोदीको आसन्न भ्रमणलाई लक्षित गरि मुस्ताङमा उच्च सुरक्षा सर्तकता
- २४ बैशाख २०७५, सोमबार
- निरज थकाली
- 2240 पटक पढिएको
ठिनी, मुस्ताङ २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ ।
सुरक्षा निकायको दैनिक बैठक बसेर आवश्यक तयारीलाई तिब्रता दिइएको प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले बताउनुभयो । बैशाख २८ गते मोदीले गर्नुहुने मुक्तिनाथ भ्रमणका लागि तिन दिनका लागि अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा छलफल चलेको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी जोमसोम सडक तिन दिन खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी रोकेर स्तरोन्नतीको काम भैरहेको छ । मोदीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरीङ ल्हमो गुरुङ को संयोजकत्वमा स्वागत समिति गठन भएको छ ।
हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्च स्तरीय धार्मीक भ्रमणले मुस्ताङबासीमा उत्साह छाएको छ । नागरीक स्तरमा नेपाल भारत सम्बन्ध सुदृढ बन्नुका साथै मुक्तिनाथको महिमा अझै बृद्धी भई धार्मीक पर्यटन विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।
यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलले आईतबार मुस्ताङ आएर सुरक्षा बस्तु अवस्थाको बारेमा जानकारी लिनुभएको छ । हेलीकप्टर मार्फत आउनुभएका रक्षमन्त्री पोखरेल सहितको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुसंग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीको बारेमा जानकारी लिनुभएको थियो ।
यस्तै रक्षामन्त्री पोखरेलले मुस्ताङ स्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकताका साथै तयारीलाई तिब्रता दिएको बताउनुभयो । जोमसोममा नेकपा एमालेका कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा रक्षामन्त्री पोखरेलले पहुँचमार्ग निर्माण, सुरक्षा क्याम्प राख्नेका साथै कुटनितीक छलफल अघि बढेकाले अबको दुई तिन वर्षमा कोरला नाका सञ्चालनमा आउने बताउनुभयो ।