टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण

  • २३ बैशाख २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2371 पटक पढिएको

म्याग्दी, २३ बैशाख ।  म्याग्दीको मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित  पर्यटकीय  टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड््केमा सरकारी निकाय र समुदायले पदमार्ग, सडक, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माणका साथै स्वर्गद्वारी आश्रमको शाखाका रूपमा चिनिने मन्दिरको जीर्णोद्धार गरेका हुन् ।

पर्यटन कार्यालय पोखराको रु ३१ लाख सहयोगमा टोड्के क्षेत्रमा एक हजार ३०० मिटर पदमार्ग र बसेर दृश्य अवलोकन गर्न मिल्ने गरी प्रतीक्षालय निर्माण गरिएको टोड्के क्षेत्र विकास समितिका उपाध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो । तत्कालीन जिविसको सहयोगमा टोड्केमा समितिको भवनसमेत निर्माण गरिएको थियो भने वनभोज स्थल र खेलकूद प्रतियोगिताका लागि खेलमैदान बनाइएको छ ।

टोड्के नजिकैको झीँ र पूर्ण गाउँका बासिन्दाले पर्यटकको सुविधाका लागि होमस्टे शुरु गरेका छन् । गुराँसे जंगलको बीचमा रहेको टोड्केको प्रचारप्रसार र सम्भावना उजागर गराउन विसं २०६५ र २०७२ मा महोत्सवको आयोजना गरिएको थियो । टोड्केबाट गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलालाई नाङ्लोको घेराझैँ नजिकबाट अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको थप आकर्षण हो ।

फाइल तस्बीर ः म्याग्दीअनलाइन डटकम

सन्तोष गौतम