म्याग्दीका स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

  • २३ बैशाख २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 2361 पटक पढिएको

म्याग्दी, बैशाख २३ ।  म्याग्दीका स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेका विभिन्न स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र (ओटिसी) स्थापना भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाको समन्वयमा बेनी नगरपालिका र गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र सञ्चालन गरिएको हो । जिल्लाको ग्रामीण क्षेत्रका शीघ्र कुपोषित बालबालिकाहरुको उपचार गर्ने उद्देश्यसहित ओटिसी सेन्टरको स्थापना गरिएको स्थानीय तहले जनाएका छन् ।

ओटिसी सेन्टरमा बालबालिकाको लागि उपचारात्मक रेडिमेट खाना, बच्चाको उचाई नाप्ने हाइडबोर्ड र तौल नाप्न चाहिने वेटमेशिनलगायत सामाग्रीहरु रहेका छन् । म्याग्दीको बेनी नगरपालिका–९ घतानस्थित घतान स्वास्थ्यचौकी, मालिका गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, रुम स्वास्थ्यचौकी र मंगलाको अर्मन स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक कामना प्रधानले जानकारी दिइन् ।

उनका अनुसार सुआहारामार्फत शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ भने बालस्वास्थ्य महाशाखाको समन्वयमा ओटिसी सेन्टरको स्थापना गरिएको छ । यसैगरी उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण र सदरमुकामस्थित बेनी अस्पतालसहित कुल १३ ओटा स्वास्थ्यसंस्थामा ओटिसी सेन्टरको स्थापना गरिने बताइएको छ । शुक्रबार अर्मन स्वास्थ्यचौकीमा सम्पन्न बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कर्मचारीहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

यसैबीच अर्मनका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी विषयमा तालिम दिइएको छ । मंगला गाउँपालिकाका स्वास्थ्य संयोजक बालकृष्ण शर्मा, सुआहाराका फिल्ड सुपरभाइजर भीमकुमारी बुढाथोकी, अर्मन स्वास्थ्यचौकी इन्चार्ज रिताकुमारी यादव, अनमी हिरा खरेल, मिना गुरुङ, राधा आचार्यले तालिमको सहजीकरण गरेका थिए । दुई दिनसम्म सञ्चालित तालिममा ८ जना स्वयंसेविकाको सहभागिता थियो

प्रताप बानियाँ