कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने

  • २२ बैशाख २०७५, शनिबार
  • 2207 पटक पढिएको


बेनी २२ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना केन्द्र व्यवस्थापन समितिका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो ।

तिन वर्षअघि तत्कालीन जिल्ला विकास समितिले करिब पन्ध्र लाख रुपैया लगानी गरेर सूचना केन्द्र सञ्चालनका लागि भवन बनाएको थियो । म्याग्दीका धार्मीक, पर्यटकीय स्थल, सांस्कृतीक पहिचान झल्कने तस्विर राखिने केन्द्रमा बेनी भएर म्याग्दी भित्र्ने पर्यटकहरुको तथ्याङक राखिने शाक्यले जानकारी दिनुभयो । निशूल्क ईन्टरनेटको ब्यवस्था गरि म्याग्दीका पर्यटकीय स्थलहरुको बारेमा पर्यटकलाई परामर्श दिइने भएको छ । सूचना केन्द्रमा कर्मचारीको व्यवस्था गरिने संघले जनाएको छ । केन्द्रको आगामी ३० गते पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।