समितिका गाडी ग्यारेजमा थन्किएपनि कम्पनी र निजी गाडीले सेवा दिए

  • २१ बैशाख २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2351 पटक पढिएको

बेनी, २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।

म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।

काम बिशेषले गन्तब्यमा पुग्नुपर्ने यात्रुहरुलाई सास्ती भएको छ । समितिले आन्दोलन गरेपनि म्याग्दीमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका दुई वटा कम्पनी सम्बद्ध व्यवसायीले सेवा दिएका छन् ।

पश्चिम म्याग्दी यातायात प्रा.लीले दरवाङ देखि ताकम मुना, बिम, लामेला तमान, देविस्थान, बेनी क्षेत्रमा सेवा सूचारु गरेको छ । यसैगरी बागलुङ भगवती यातायात प्रा.लीले बेनी काठमाठौ रुटमा सेवा दिएको छ ।

पर्याप्त मात्रामा सार्वजनीक सवारी साधन नचल्दा यात्रुहरु सिमित सवारी साधनमा कोचीएर यात्रा गरेका छन् । बेनी देखि ग्रामिण सडकमा चल्ने निजी बोलेरो जिपले समेत समितिको बन्दलाई अवज्ञा गर्दै सेवा दिएका छन् ।

कम्पनीमा आवद्ध ब्यवसायीले सरकारले सुरक्षा दिएमा आफूहरु सेवा दिन तयार रहेको जनाएका छन् । बैशाख २२ गते बिहान ४ बजेसम्म गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघले सरकारले जारी गरेको निर्देशिका फिर्ता लिनुपर्ने माग राखेको छ ।

यातायात सेवालाई व्यवस्थित, प्रतिस्पर्धी, गुणस्तरीय, सुरक्षित, मर्यादीत बनाउदै करको दायरामा ल्याउन सरकारले कम्पनीको रुपमा दर्ता गर्नुपर्ने नितीगत व्यवस्था गरेपछि बर्षौदेखि आलोपालो प्रथा (सिण्डीकेट) लादेर एकलौटी गर्दै आएका समितिहरु आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच गृह मन्त्री रामबहादुर थापा (बादल)को निर्देशन अनुसार गृह मन्त्रालयले यातायात सेवा अवरुद्ध पार्ने सिण्डीकेट पक्षधर समितिका पदाधीकारीलाई पक्राउ गर्न देशभरका प्रशासन कार्यालयमा पत्राचार गरेको छ ।

मन्त्रालयको परिपत्र अनुसार म्याग्दीमा सिण्डीकेट पक्षधर समितिका पदाधीकारीलाई पक्राउ गर्न खोजी भैरहेको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । गृहको परिपत्रको सूचना पाएपछि सिण्डीकेट पक्षधर समितिका पदाधीकारीको भागाभाग भएको छ ।

सन्तोष गौतम