मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न तयारी सुरु
- २० बैशाख २०७५, बिहीबार
- कमल खत्री
- 2685 पटक पढिएको
म्याग्दी, २० वैशाख । मुस्ताङमा अवस्थित पवित्रि धार्मिक स्थल मुक्तिनाथ मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्ने भएका छन् । आगामी हप्ता हुने मोदीको नेपाल भ्रमणको क्रममा उनले मुक्तिनाथको समेत दर्शन एवम पुजा गर्ने कार्यक्रम तय भएसंगै उनको धार्मिक भ्रमणको लागि आबश्यक तयारी तिब्र पारिएको हो । जनकपुर भ्रमणको मौकामा मोदीले मुक्तिनाथको समेत दर्शन गर्ने इच्छा राखेपछि गृहमन्त्रालयले उनको भ्रमण तालिकालाई समेत परिमार्जन गरेको छ । सोही दिन मोदी हेलीकप्टर मार्फत जनकपुरदेखि मुक्तिनाथ पुग्नेछन् । मोदी आउने अनौपचारिक निर्देशनसंगै मुक्तिनाथमा उनको स्वागत तयारी थालिएको हो ।
सुरक्षाको लागि आबश्यक तयारीसंगै मन्दिरको सरसफाई, मन्दिर र १०८ धारालाई रङरोगन गरि चिटिक्क पार्ने, हेलिप्याड बनाउने कार्यदेखि सडकलाई व्यवस्थित बनाउने काम समेत थालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । उनका अनुसार, मोदीको भ्रमणलाई सुरक्षित र मर्यादीत बनाउन आबश्यक तयारी थालिएको छ ।भारतीय प्रधानमन्त्रीलाई मुक्तिनाथमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ लगायतले स्वागत गर्नेछन् । मोदीको धार्मिक भ्रमणको पूर्व सन्ध्यामा सुरक्षा अधिकारीहरु सहितको उच्च स्तरीय टोलीले मुक्तिनाथ क्षेत्रको सुरक्षा अवस्थाको बारेमा अवलोकन गरेका छन् ।
जिल्लाको सिमा नाकाहरुमा समेत सुरक्षा व्यवस्थालाई बलियो बनाउन थालिएको प्रजिअ पौडेलले जानकारी दिए । भ्रमणको तीन दिन अघि देखि नै थोराङ्लापास लगायतका सिमा क्षेत्रलाई बन्द गरिनेछ । समृन्द्री सतहदेखि ३ हजार ९०० मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिरको दर्शनको लागि आउन लागेका मोदीको स्वागतको लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा स्वागत समिति समेत बनाईएको छ । स्थानीयले मौलिक कला संस्कृति समेत भारतीय प्रधानमन्त्री मोदीलाई देखाउने तयारी गरेका छन् ।
मोदी हेलिकप्टर मार्फत मुक्तिनाथ आउने भएकाले उनको स्वागतको लागि बेनी–जोमसोम सडक हुँदै प्रदेश नम्बर ४ का उच्च पदस्थ व्यक्ति एवम अधिकारीहरु मुक्तिनाथ पुग्नेछन् । हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरुको साझा धार्मिक स्थलको रुपमा परिचित मुक्तिनाथ भारतीय धर्मगुरुहरुले ज्ञान आर्जन गरेको स्थल समेत रहेकाले मोदीको हुन लागेको मुक्तिनाथ भ्रमणलाई विशेष महत्वको साथ हेरिएको छ ।
अर्कोतर्फ चीनको तिब्बतसँग जोडिएको मुस्ताङमा मुक्तिनाथ मन्दिर अवस्थित रहेकाले समेत मोदीको यो भ्रमणले बढी चासोको बिषय बनाएको छ । ४ बर्ष अघि मोदीले नेपाल भ्रमणको क्रममा मुक्तिनाथ जाने योजना बनाएपनि अन्तिम चरणमा स्थगीत गरेका थिए ।
यसैबिच मोदीको मुक्तिनाथ दर्शनको भ्रमण हुने भएपछि मुस्ताङबासी उत्साहीत बनेका छन् । मुक्तिनाथको दर्शन तथा भ्रमण गर्ने विदेशी पर्यटकहरुमा पहिलो स्थानमा रहेका भारतीय नागरिक माझ सकरात्मक सन्देश प्रवाह गर्न मोदीको भ्रमणले रचनात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l