विश्व किर्तिमानी कायम गराउन म्याग्दीका शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्ने

  • १ चैत्र २०७३, मंगलवार
  • 4120 पटक पढिएको

म्याग्दी, १ चैत । म्याग्दीको भुरुङ तातोपानीका मीन बहादुर शेरचन छयासी बर्ष पुगे । उमेरले बुढ्यौली लागेपनि उनको शाहसले उनी अझै युवा अबस्थामै छन भन्ने भान गराउन । सन २००८ मा ७६ बर्षको उमेरमा सवोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका शेरचनले अहिले पुनः ८६ बर्षको उमेरमा सगरमाथाको उकालो चढ्ने निधो गरेका छन् । सबैभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएपनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् । DSC_0011

आगामी मे १२ देखि २५ तारिक भित्रमा सुरु हुने सगरमाथा आरोहणमा शेरचनले ८ हजार ८४८ मिटर अग्लो सगरमाथा आरोहण गरेभने पुनः ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गर्ने कृर्तिमानलाई कायम गराउनेछन् ।  मंगलवार म्याग्दी उद्योग बाणिज्य संघले बेनीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा वयोवृद्ध सगरमाथा आरोही शेरचनले विश्व कीर्तिमान कायम राख्न ८६ बर्षको उमेरमा सगरमाथा चढ्न लागेको बताए  । आफ्नो स्वेच्छाले शिखर आरोहण गर्न लागेको भन्दै आरोही शेरचनले पृथ्वीमाताको रक्षा, विश्व मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए ।

DSC_0033
“उमेरले म बुढो भए पनि मेरो आँट बुढो भएको छैन, स्वास्थ्य अबस्था पनि मेरो ठिक छ, युके र कोरियामा पनि स्वास्थ्य परिक्षण गरिसकेको छु, हिमाल आरोहण गर्दा मलाई लेक लाग्दैन, यसले पनि मेरो जेष्ठ नागरिकहरुको तर्फबाट सगरमाथा आरोहण गर्ने लक्ष्य पुरा गराएरै छाड्छु’’–उनले भने  । शेरचनले यो उमेरमा पनि सगरमाथा आरोहण सम्भव छ ? भनेर धेरैले आश्चर्य मानेको बताउँदै  आफुले सफल रुपमा सगरमाथा आरोहण गरि सबैलाई प्रमाणित गरिदिने प्रतिबद्धता जनाए ।

4
‘‘ मलाई जसरी तपाईहरुले अहिले स्वागत गरिरहनुभएको छ, त्यसैगरि मैले सफल रुपमा मेरो लक्ष्यमा पुग्नेछु, सगरमाथा आरोहणसंगै मैले जे लक्ष्यहरु लिएको छु, ति कुराहरुलाई पुरा गर्न विश्व समुदायको ध्यानकर्षण गराउन सफल हुनेछु,’’– उनले विश्वास व्यक्त गरे । शेरचनको सगरमाथा आरोहणलाई सफल बनाउन ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ मार्फत आबश्यक सहयोग जुटाउन समेत थालिएको छ । उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत लगायतका सङ्घ संस्थाहरुले सहयोग रहेका छन् ।

अभियानका संयोजक जीतबहादुर घर्तीमगरले विश्व कीर्तिमान कायम राख्नका लागि सगरमाथा आरोहण गर्न  लागेका शेरचनको सगरमाथा आरोहण अभियानमा करिब १ करोड खर्च लाग्ने बताए । ‘‘ अन्य साधारण व्यक्तिको भन्दो उहाँको आरोहणमा स्वभाविक रुपमा धेरै जनशक्ति लाग्ने अनुमान गरिएको छ, त्यसको कारण पनि आरोहण खर्च बढ्ने देखिन्छ, हामीले युकेबाट आर्थिक संकलनको अभियान थालनी गरेपनि अन्यक्षेत्रबाट पनि सहयोगको खाँचो छ, हामीले प्रधानमन्त्रीलाई नै निवेदन पेश गरेर पनि सहयोग गर्न आग्रंह गरेका छाँै’’–संयोजक घर्तिमगरले भने ।

2
यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । सन् २०१५ मा सगरमाथा आरोहण गर्न आधारशिविर तर्फ प्रस्थान गरेका शेरचन मुलुकमा गएको महाभुकम्पको कारण सगरमाथाको आधार शिविरबाट आरोहण स्थगित गरि फर्कन बाध्य भएका थिए  । ८६ बर्षको बृद्ध उमेरमा पनि सगरमाथा आरोहण गर्ने आँट बोकेका शेरचनले बुढापाकालाई साहस र युवा पुस्तालाई प्रेरणा दिने बताउँदै संयोजक घर्ति मगरले शेरचनको सफल आरोहण भएप्छि नेपाललाई विश्व सामु चिनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे ।  भूतपूर्व गोरखा सैनिक समेत रहेका शेरचनले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरिसकेका छन् ।

सगरमाथा आरोहण अगाडि शेरचनले अन्य हिमाल पनि आरोहण गरेका थिए । करिब ५ बर्ष अगाडी जन्मथलो भुरुङ तातोपानीमा आयोजीत रुप्से, तातोपानी र अन्नपूर्ण महोत्सवका अबसरमा अभिनन्दनको क्रममा उहाँले दुई पटक शिखर चढ्ने ईच्छा ब्यक्त गरेका थिए ।

ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान कायम गराउन लागेका  शेरचनलाई म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा म्याग्दी जिल्लाबासीहरुले सफलताको कामना गर्दै सम्मान गरेका थिए ।

सो अबसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा, संघका बरिष्ट उपाध्यक्ष उत्तम कर्माचार्यले शेरचनको साहसको प्रसंसा गर्दै उहाँको आरोहण सफलताले जिल्लाकै प्रतिष्ठा बढाउनेमा जोड दिनुभयो । संघका द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिब राजेश शाक्यले गर्नुभएको थियो । शेरचनले हिमाल आरोहणको पूर्वसन्ध्यामा बुधवारदेखि पाँच दिन लगायर पदयात्रा मार्फत मुस्ताङको मुक्तिनाथ सम्मको यात्रा गर्ने तयारी गर्नुभएको बताईएको छ ।