मुक्तिधाम माविको ६९ औँ बार्षिकोत्सव मनाईयो
- १८ बैशाख २०७५, मंगलवार
- 2407 पटक पढिएको
म्याग्दी, १८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयको ६९ औँ बार्षिकोत्सव मंगलवार मनाईएको छ । विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित समारोह आयोजना गरि मनाईएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले लामो शैक्षिक इतिहाँस बोकेको मुक्तिधाम माविको शैक्षिक र भौतिक पूर्वाधार विकास र विस्तारमा सबै सरोकारवालाहरुबिच हातमालो आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गुणस्तरीय र युग सुहाँउँदो शिक्षा प्रदान गर्नको लागि प्राविधिक शिक्षाको पठनपाठनलाई समेत सञ्चालन गर्नेबारे योजना बनाउन आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले आफ्नो प्राथमिकतामा शिक्षालाई समेत राखेको बताउँदै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको लागि सबैले चासो दिनुपर्ने आबश्यकता औँलयाउनुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम बहादुर कटुवाल, ३ का अध्यक्ष जिवनकुमार मल्ल, स्रोत व्यक्ति दुतबहादुर गर्वुजा लगायतले मुक्तिधाम माविबाट उत्पादन भएको शैक्षिक जनशक्तिले मुलुकका विभिन्न क्षेत्रहरुमा सफलता हाँसिल गरेको उल्लेख गर्दै आगामी दिनमा समेत अझै गुणस्तरीय शिक्षाको लागि लागिपर्न विद्यालयलाई आग्रह गरेका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०७४ को बार्षिक परिक्षाको पुरस्कार वितरण समेत गरिएको थियो । सो अवसरमा परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने, प्रत्येक कक्षामा सरसफाई र नियमित उपस्थित हुने १ /१ जना तथा गत एसईई परिक्षामा उत्कृष्ट हुने सफल कार्कीलाई नगद सहित पुरस्कृत गरिएको थियो । शिक्षक टेकबहादुर केसीले स्वागत गरेको कार्यक्रममा प्रधानध्यापक अमर केसीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुतीहरु राखेको उक्त कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, पूर्व शिक्षक, प्रअहरु लगायतको सहभागीता रहेको थियो भने शिक्षक विष्णु प्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।