शीघ्र कुपोषणको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम
- १८ बैशाख २०७५, मंगलवार
- 1925 पटक पढिएको
म्याग्दी, बैशाख १८ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मङ्गलबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।
शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित दोस्रो चरणको तालिम आयोजना गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणको जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खाना, व्यवहार परिवर्तन, सुक्ष्म पोषक तत्व, आयोडिन नुनको प्रयोग, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लगायतका विविध विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।
तीन दिनसम्म चल्ने तालिममा अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्यचौकीमा कार्यरत १७ जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका छन् । तालिमको सुआहाराका तालिम अधिकृत प्रणय उदास र बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अनिल पाण्डेले सहजीकरण गर्नेछन् । तीन दिनसम्म चल्ने तालिमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले स्वागतसहित उद्देश्यमाथी प्रकाश पारेकी थिइन् भने अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालको सञ्चालनमा तालिम सुरु भएको थियो ।