बाबियाचौरमा रक्तदान, ३० पिन्ट रगत सङ्कलन
- १७ बैशाख २०७५, सोमबार
- 2039 पटक पढिएको
बाबियाचौ, १७ बैशाख । २५६२औं बुद्धजयन्तीको अवसर पारेर सोमबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नारासहित मंगला युथ क्लब बाबियाचौरको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाबियाचौर उपशाखाको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
रक्तदान कार्यक्रममा विभिन्न ३० जना युवा, महिला, समाजसेवी, कर्मचारी र शिक्षक लगायतले रक्तदान गरेका छन् । मंगला शिक्षा क्याम्पसको प्राङ्गणमा सञ्चालित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन गरिएको आयोजक मंगला युथ क्लबले जनाएको छ ।
र
क्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले युवा क्लबले सञ्चालन गरेको रचनात्मक कार्यक्रम प्रशंसायोग्य रहेको बताएका थिए । उनले युवा क्लबले समाजमा रहेको बिकृति, बिसङ्गति र कुरितीको अन्त्य गर्नुपर्ने बताउँदै समाज परिवर्तन हुने खालका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
मंगला युथ क्लबका अध्यक्ष विकास केसीले क्लबमार्फत आगामी दिनमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् । रेडक्रस बाबियाचौर उपशाखाका सचिव खिमबहादुर बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई क्लब र रेडक्रस उपशाखाद्वारा प्रशंसापत्र वितरण गरी सम्मान गरिएको थियो ।
रगत सङ्कलनको व्यवस्थापन बेनी अस्पतालको रक्तसञ्चार केन्द्र प्रमुख यामबहादुर थापा र ल्यावका कर्मचारी रस्बिना थापा तथा स्थानीय स्वास्थ्यकर्मी लगायतले गरेका थिए । म्याग्दी जिल्लामा सङ्कलन गरिने रगत बेनी अस्पतालमा खपत हुँदै आएको छ भने पोखरा समेत पठाउने गरिएको छ ।