बेनी अस्पतालको भवन निर्माणमा ढिलाई
- १६ बैशाख २०७५, आईतवार
- सन्दिप शर्मा
- 2313 पटक पढिएको
म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बनी बजारमा रहेको तत्कालिन जिल्ला अस्पताल (हाल बेनी अस्पताल म्याग्दी)को कार्यालय परिसरमा बन्न लागेको आधुनिक सुविधासम्पन्न भवनको निमार्णकार्य सुस्त गतिमा हुँदा विरामीहरुले सास्ती खेप्न परेको छ । जिल्ला भित्र रहेको अस्पताल सुविधा सम्पन्न हुनुका साथै स्तरोन्नती हुनु आफैमा राम्रो भएपनि निर्माणकार्य सुरु भएको मितिले हालसम्म फाउण्डेशनको काम ५० प्रतिशत सकिनुपर्नेमा जम्मा ८ प्रतिशत मात्रै काम हुँदा निर्माण ढिला हुदा समयमै भवनकाे निर्माण कार्य सम्पन्न नहुने अाशंका बढेकाे हो ।
दुई वर्षअघि क्षमता विस्तार भएको अस्पतालको शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा ठेक्का प्रणालीमार्फत निर्माणकार्य सुरुवात गरिएको हो । कुल ४ हजार ९६३ वर्गमिटर क्षेत्रफल (करिब ५० हजार वर्गफिट)मा निर्माण हुन लागेको भवनमा ४ तला रहेको छ । काठमाडौंको महादेव खिम्ती गल्वा राफिना जेभी कम्पनीसँग आर्थिक वर्ष २०७३÷७४ को मंसिर २१ गते निर्माण सम्झौता भई निर्माणकार्य अगाडि बढाइएको थियो ।
भ्याटसहित १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँको लागतमा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको कार्यालय प्रमुख प्रकाश अर्यालले बताए । भवन निर्माणको काम द्रुत गतिमा काम हुनुपर्ने भए पनि त्यो गतिमा काम अगाडि बढ्न सकेको छैन भने अहिले भवन निमार्ण स्थलमा न्युन मात्रामा कामदारहरु खटिएका छन् । समयमै काम सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीले वेवास्ता गरेको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । भवन निर्माणको काममा ढिलासुस्ती भएको हुँदा निर्धारित समयमा भवन निर्माणको काम सकिनेमा आशङ्का रहेको उनले बताएका छन् ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर गणेश मर्हजनले सम्झौता अनुसार ठेकेदार कम्पनीले काम गर्न नसकेको बताए । उनले भवन निर्माणकार्य आगामी वर्ष २०७६ मंसिर २० गते सम्पन्न गरिसक्नुपर्ने भए पनि ढिलासुस्तीका कारण समयमै भवन निर्माणको काम सम्पन्न हुन नसक्ने बताएका छन् ।
आधुनिक सुविधासम्पन्नसहितको निर्माणाधीन भवनको अर्ध भुइँ सिँढीमा लौन्ड्री, शवगृह र क्यान्टिन, भुइँ तलामा ईमरजेन्सी, प्रसुतिकक्ष, ल्याव र रेडियोलोजी, पहिलो तलामा अन्तरङ्ग विभाग, शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), र दोस्रो तलामा अस्पताल प्रशासन रहने शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले बताएको छ । अस्पताल भवनसँगै चार–चार परिवार नर्स र डाक्टरको आवास भवन निर्माणका लागि समेत निर्माणकार्य अगाडि बढाइएको छ ।