६८ बर्षका पूर्वशिक्षकद्धारा १० बर्षिया बालिका बलात्कृत

  • १६ बैशाख २०७५, आईतवार
  • गोपाल छन्त्याल
  • 3421 पटक पढिएको

म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा पूर्वशिक्षकद्धारा दश बर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक ६८ बर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गत मंसिर देखि विभिन्न समयमा बलात्कार गर्दै आएको खुलेको हो । पीडित बालिकाको स्वास्थ्यमा अस्वभाविक समस्या देखिन थालेपछि उक्त घटना सार्वजनिक भएको हो । अनुसन्धानका क्रममा पूर्वशिक्षक पुनले मंसिर देखि विभिन्न समयमा औला फुलबारी टोलस्थित खोल्सा चिप्लेटीमा बाँदर धपाउने निहुँमा प्रलोभन पार्दै बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।


परिवारजन र स्थानीयले घटनाबारे गाउँपालिका उपप्रमुख केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले अभियुक्त पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

‘परिवार र छरछिमेकीले बच्चाको अवस्था र उनलाई बलात्कार गर्ने धनबहादुरबारे जानकारी गराएपछि घरमै गएर त्यसबारे बुझेँ, फौजदारी मुद्दा भएकाले हामीले त्यसलाई अघि बढाउन नमिल्ने भएपछि प्रहरीको समन्वयमा कानुनी प्रक्रिया अघि बढाएका छौँ’, उपप्रमुख मगरले भनिन् ।

पीडित बालिकाकी परिवार आर्थिक अवस्था कम्जोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाईएको उनले बताइन् । ‘पीडित बालिका र मास्टरको घर नजिकै पनि रहेछ । विभिन्न बाहना बनाउँदै जँगलमा लगेर उक्त कृत्य गर्दोरहेछ, बच्चाको यौनीबाट अस्वभाविक तरिकाले पिसाब बगीरहने समस्या देखिएपछि बल्ल यस्तो घटना सार्वजनिक भयो’, उनले भनिन् ।

पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परिक्षण गरेपछि आवश्यक औषधीसँगै स्वास्थ्य परामर्श दिईएको छ । पीडित बालिकालाई प्रहरीकै निगरानीमा राखिएको छ । प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले अभियुक्त पुनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाईएको जानकारी दिइन् ।  ‘घटनाबारे जानकारी पाएपछि पुनलाई हामीले नियन्त्रण लिएका छौँ । सबै घटना विवरण हेर्दा उनी यसमा दोषी देखिन्छ’, उनले भनिन्, ‘जर्वरजस्ती करणीमा मुद्दा दर्ता गरेका छौँ ।’

गोपाल छन्त्याल