म्याग्दी जेसीजद्धारा पर्यटकीय रुइसेमा भ्यु प्वाइन्ट स्थापना ( फोटो फिचर)

  • १५ बैशाख २०७५, शनिबार
  • कमल खत्री
  • 4247 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य रुईसे–भेडिओढारको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनको लागि म्याग्दी जेसीजले भ्यु प्वाइन्ट स्थापना गरेको छ । म्याग्दी जेसीजको ‘एक स्थानीय तह एक कार्यक्रम’ अन्र्तगत पर्यटकीय रुईसेको ताराखसेमा भ्यु प्वाइन्ट स्थापना गरिएको हो । शनिवार म्याग्दी जेसीजको आयोजनामा रुईसेमा भएको पर्यटन प्रवद्र्धन कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले उक्त भ्यु प्वाइन्टको उद्घाटन गर्नुभएको थियो ।

समृन्द्री सतहदेखि २ हजार २ सय ८ मिटर उचाइमा रहेको उक्त भ्यु प्वाइन्टबाट रघुगंगा गाउँपालिकाको अधिकाँश वडाहरु संगै, म्याग्दी, पर्वत, बागलुङका धार्मिक एवम ऐतिहाँसिक क्षेत्र, दर्जनौँ बस्ती संगै माछापुच्छे« अन्नपूर्ण, निलगिरि लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्यको रुपमा रहेको रुईसे र भेढिओढार क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारको लागि म्याग्दी जेसीले स्थापना गरेको भ्यु प्वाइन्ट बोर्डले रचनात्मक सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले रुइसेको थामकोटमा दृष्य अवलोकनको लागि भ्यु टावर नै निर्माण गर्ने योजना अघि बढाएको बताउँदै यस क्षेत्रमा पिकनिक स्पोर्ट, खानेपानी सुविधा, आवास भवन लगायतका पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले रुईसे–भेडिओढार क्षेत्र सम्भावनायुक्त भएपनि प्रचार प्रसारको कमि र पूर्वाधार अभाबले ओझेलमा परेको बताउँदै वडा कार्यालयले समेत यस क्षेत्रको पर्यटन विकासमा लागीपरेको बताउनुभयो । रुईसे हुँदै ताराखसे, रिमाङचौर र नौली वराह मन्दीर सम्म सडकको पहुँच विस्तार गरिएको बताउँदै उहाँले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले यस बर्षलाई संघको अगुवाईमा म्याग्दी भ्रमण बर्षको रुपमा बनाउन लागिएको बताउँदै रुइसे र भेडिओढार क्षेत्रपनि पर्यटकहरुको लागि उत्तम गन्तव्य बन्न सक्ने बताउँदै जेसीजले ओझेलमा परेका पर्यटकीय ठाउँहरुको प्रवद्र्धनको लागि थालेको अभियान सकरात्मक रहेकोमा जोड दिनुभयो ।

म्याग्दी जेसीजका सदस्य एवम सिजलगाउँका युवा नेता हरि भण्डारीको संयोजकत्वमा भएको उक्त कार्यक्रमको अवसरमा जेसीजका पदाधिकारी एवम सरोकारवालाहरुको टोलीले रुईसे र भेडिओढार क्षेत्रको अवलोकन समेत गरेका थिए । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत रहेपनि यहाँको प्रचार प्रसार नहुँदा पर्यटन विकास हुन नसकेको कारण भ्यु प्वाइन्ट स्थापना र पर्यटन प्रवद्र्धनको लागि कार्यक्रम तय गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।

भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रलाई विभिन्न माध्ययम मार्फत प्रचार प्रसार गर्ने अभियान अन्र्तगत उक्त कार्यक्रम तय गरिएको कार्यक्रमका संयोजक भण्डारीले जानकारी दिनुभयो । शाखा अध्यक्ष विश्वकर्माको अध्यक्षता, संयोजक भण्डारीको स्वागत र महासचिब विरेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेगखोला, २ भगवती, ३ पिप्ले, ४ दग्नाम र ५ चिमखोलाको सिमाक्षेत्रलाई समेटिएका रुईसे– भेडीओढारबाट पुर्वमा माछापुच्छ«ेदेखि अन्नपूर्ण, निलगिरी, धौलागिरी , गुर्जा हुँदै पश्चिममा रहेको चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजीकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख बिशेषता हो ।

यो क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि अहिले स्थानीय युवा प्रकाश भण्डारीले रबाङचौर नजीकै होमस्टे समेत सञ्चालनमा ल्याउनुभएको छ । रुईसे र भेडिओढार क्षेत्रमा रहेका भेडाबाख्राका गोठहरुले परम्परागत जिबनशैलिको झल्को दिने गर्छ भने चरणक्षेत्रमा रहेका भेडाबाख्राको दृष्य पर्यटकहरुको लागि पनि आकर्षण बन्ने गरेको पाइन्छ ।

पाँच बर्ष अगाडि टान पोखराको नेतृत्वमा धौलागिरी आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रको बारेमा प्रचार प्रसार हुन थालेको हो । म्याग्दीको गलेश्वर देखि सुरु हुने धौलागिरी आईसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनेमंगलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l