घराम्दीमा विकासको नमुना, महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन् (फोटो फिचर)

  • १५ बैशाख २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2903 पटक पढिएको

घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैया भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरीक तिलीसरा गर्बुजाले चन्दादाताहरुको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि फगामीले अन्य ठाउँमा जनताले तिरेको करबाट विकास भएपनि घराम्दीमा गाउँ, देशका विभिन्न ठाउँ र बिदेशमा रहेका स्थानीयबासीले कर तिरेर बचेको रकम विकासमा लगानी गरीएको बताउनुभयो । गाउँलेले दुख गरेर सामान्य ट्याक मात्र खोलेको सडकलाई प्राबिधिक रुपमा उपयुक्त हुने र सहज रुपमा यातायातका सवारी साधन सञ्चालन हुने गरी स्तरोन्नती गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष गमबहादुर फगामीले राज्यको न्युन सहयोग रहेको सडक निर्माणमा स्थानीयबासीले गरेको योगदान नमुना भएको बताउँदै सडकको प्रयोग गरेर गाउँमा नगद, पर्यटक, सुबिधा र सम्बृद्धी भित्र्याउन सबै सक्रिय बन्नुपर्ने बताउनुभयो । सडकको स्तरोन्नती, गाउँ हेर्ने डिल, पेरीभारानी, टिकोट, महभिर झरना, पञ्चेवल डाँडा, डाँडाखर्क लगायत धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार विकास, प्रचारप्रसार र प्रर्वद्धनमा जोड दिने बताउनुभयो । नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले घराम्दीका बासिन्दाले विकासका लागि उदाहरणीय काम गरेको बताउनुभयो ।

सडक निर्माण समितिका अध्यक्ष दुतबहादुर पुर्जाको अध्यक्षता, कोषाध्यक्ष तथा ब्यवस्थापक तिर्थबहादुर फगामीको सञ्चालन र घराम्दी आधारभुत विद्यालयकी शिक्षीका बृन्दा थापाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा चन्दादाताहरुलाई सम्मानका साथै सडक निर्माण भएकोमा नाचगान गरेर खुसीयाली मनाइएको थियो ।

स्थानीयबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिर देखि घराम्दी हुदै पेरी भारानी ताल जोड्ने सडक निर्माण गरेका हुन् । फगामीले सबैभन्दा बढी दश लाख ४५२ रुपैया सहयोग गर्नुभएको थियो ।

वि.स २०६७ मा महभिरदेखि सुरु भएको सडक वि.स २०७४ पुषम धार्मीक पर्यटकीय स्थल पेरीभारानी तालमा जोडिएको थियो । तत्कालीन हिस्तान गाविस र जिविसले न्युन मात्रामा बजेट उपलब्ध गराएको सडक मर्मतका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैया बिनियोजन गरेको वडा सदस्य हर्कबहादुर पुर्जाले बताउनुभयो ।

चट्टानी पहाड र भिरालो भुगोलमा सडक निर्माण गर्नुपर्दा धेरै लगानी भएको सडक निर्माण समितिका सचिव मनकुमार गर्बुजाले बताउनुभयो । घराम्दी गाउँमा ९५ घरधुरीको बसोबास रहेको छ । जिप र ट्याक्टर चल्न थालेपछि स्थानीयबासीलाई सदरमुकाम बेनी, गाउँपालीकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवत जावतका लागि सहज भएको छ । गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामाग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । पर्यटकीय महत्वको पेरी भरानी तालमा पुग्ने भक्तजन, पर्यटकमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

सन्तोष गौतम