संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तालिम

  • १५ बैशाख २०७५, शनिबार
  • 1305 पटक पढिएको

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका लागि विविध विषयहरुमा जानकारी गराउने उद्देश्यसहित तालिम चलाइएको थियो ।

युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको थियो । तालिममा लिङ्ग र लैङ्गिकता, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको ढाँचा, आत्मशक्ति क्षमता, लैङ्गिक क्रमबद्धता, विद्यमान लैङ्गिक मान्यता अनुकुल, लैङ्गिक मूल प्रवाहीकरण तथा रुपान्तरण, कार्ययोजना लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

तालिमको सुआहारा कार्यक्रमका मातृशिशु तथा बाल स्वास्थ्य एवं लैङ्गिक समानता र सामाजिक समावेशीकरण अधिकृत अनोज गुरुङले सहजीकरण गरेका थिए । दुई दिनसम्म चलेको तालिममा मिलन म्याग्दीको कार्यसमितिका पदाधिकारी, उपसमिति र विभागका सदस्यसहित १२ जनाले सहभागिता जनाएका थिए । तालिमको समापन गर्दै मिलन म्याग्दीका अध्यक्ष विनय श्रेष्ठले आगामी दिनमा थप गतिविधिसँगै संस्थालाई अगाडि बढाउने बताएका छन् ।