पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

  • १२ बैशाख २०७५, बुधबार
  • 1857 पटक पढिएको

बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् ।

पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई आफ्नो जन्मदिन अथवा अन्य कुनै अवसरमा सहयोगका लागि अपिल गरिएको शिक्षक देवीप्रसाद शर्माले जानकारी दिनुभयो । अक्षयकोषमा जसले पनि जुनसुकै समयमा इच्छा लागेको रकम जम्मा गर्न सक्नेछन् । अक्षयकोषमा रकम जम्मा गर्नेहरूलाई विद्यालयले विशेष अवसररकार्यक्रममा सम्मान गर्ने र उनीहरूले जम्मा गरेको रकमको अभिलेखीकरणलाई व्यवस्थित समेत गरिने शिक्षक शर्माले बताउनुभयो ।

यसैक्रममा बेनपा ६ चुत्रेनी निवासी पूर्व विद्यार्थी भिमकुमारी बानिया (लक्ष्मी)ले बुधबार अक्षयकोषमा दश हजार ११२ रुपैया सहयोग गर्नुभएको छ । विद्यालयका पूर्व विद्यार्थी, सेवा क्षेत्रका अभिभावक, स्थानीयबासी, शिक्षक लगायत सरोकारवालाहरुलाई विभिन्न उत्सवहरुमा हुने फजुल खर्च कटाएर अक्षयकोषमा सहयोग गर्न अपिल गरिएको शिक्षक शर्माले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधार र छात्रवृत्तीका लागि अक्षयकोष स्थापना गर्न सामाजिक सञ्चाल मार्फत अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । अक्षयकोष स्थापनाका लागि गोविन्द बानियाको संयोजकत्वमा तदर्थ समिति समेत गठन भएको छ ।