म्याग्दीको सुझावः प्रदेशको नाम धौलागिरि र गण्डकी मध्य एक उपयुक्त

  • १० बैशाख २०७५, सोमबार
  • 2553 पटक पढिएको


म्याग्दी, १० बैशाख । प्रदेश नम्वर ४ को राजधानी पोखरा र नामाङ्कन धौलागिरि उपयुक्त रहेको म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । प्रदेश राजधानी तथा नामाङ्कन समितिको आयोजनामा बेनीमा भएको सुझाव संकलन कार्यक्रममा यस्तो सुझाव राखेका हुन् । सुझाव संकलन कार्यक्रममा उपस्थित म्याग्दीका जनप्रतिनीधि, राजनीतिक दल, पत्रकार लगायतले प्रदेशको नामाङ्ककन धौलागिरि राख्न उपयुक्त रहेको बताए छन् । प्रदेश ४ गण्डकी अञ्चलको ७ ओटा जिल्ला र धौलागिरि अञ्चलको ४ जिल्ला गरि ११ जिल्लाले प्रदेश ४ बनेको हुदाँ प्रदेशको केन्द्र गण्डकी अञ्चलभित्र भएको हुदाँ प्रदेशको नामाङ्कन धौलागिरि राख्दा सबैलाई स्विकार हुने बताएका थिए ।


सोमबार प्रदेश नम्बर ४ को प्रदेश राजधानी तथा नामाङ्कन समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण थापा, दिपक कोईराला र विनोद केसीको सहभागिता भएको थियो । सुझाव संकलन समितिले गरेको कार्यक्रममा क्षेत्र र जातिको आधारभन्दा पनि प्रदेशका बहुसंख्यक जनताले स्वीकार गर्ने नामबाट प्रदेशको नाम राख्न सुझाव दिएका थिए । विवादरहित प्रदेश निर्माण गर्नका लागि प्रदेशको नाम विश्वको सातौ अग्लो हिमाल धौलागिरि हिमालको प्रर्वद्धन गर्न प्रदेशको नाम धौलागिरि राख्नु उपयुक्त रहेको म्याग्दीका जनप्रतिनिधि तथा सरोकारवालाले सुझाव राखेका थिए । यदी धौलागिरि प्रदेश नामाङ्कन नभए प्रदेश ४ को सबै जिल्लालाई समेटिएको नदी कालिगण्डकी नदीको नामबाट गण्डकी प्रदेश राख्नु उपयुक्त रहको दोस्रो सुझाव दिएका थिए । प्रसिद्ध पवित्र तिर्थस्थल मुक्तिनाथबाट बग्ने कालिगण्डकी नदीमा बुद्धिजम र हिन्दुले शुद्ध जलको रुपमा मान्दै आएको हुदाँ गण्डकी प्रदेश पनि उपयुक्त रहेको बताएका थिए ।


जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सुझाव सङ्कलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ पुर्जा, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सचिव क्याप्टेन मिन बहादुर कार्की, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, पत्रकार लगायतले भौगोलिक र पुर्वाधार हिसावले प्रदेशको केन्द्र पोखरा उपयुक्त रहेको हुदाँ, प्रदेशको नाम धौलागिरि र गण्डकी मध्य एकले परिभाषित गर्दा विवादरहित हुने सुझाव राखेका थिए । कार्यक्रममा उपस्थित प्रदेश सांसदहरुले जिल्लाबाट प्राप्त सुझावलाई रिपोट बनाएर हुबहु समितिमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन प्रदेश सचिवालय सचिव झनक अधिकारीले गरेका थिए ।